नारायणगढ : कक्षा १० को शैक्षिक गतिविधि सम्पन्न गरी SEE परीक्षाको तयारीमा रहेका नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनका विद्यार्थीहरूले एक दिन ट्राफिक स्वयंसेवकको रूपमा सामाजिक सेवा गरेका छन्।
नारायणगढका विभिन्न व्यस्त चोकहरूमा खटिएका विद्यार्थीहरूले ट्राफिक प्रहरीसँग सहकार्य गर्दै सवारी साधन व्यवस्थापनमा सहयोग गर्नुका साथै सडक प्रयोगकर्तालाई ट्राफिक नियमबारे सचेतना प्रदान गरेका थिए।
कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले सवारी नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाही प्रक्रियामा सहयोग गर्ने, जेब्राक्रसिङबाट पैदल यात्रुलाई सडक पार गराउन सहयोग गर्ने तथा सुरक्षित सडक प्रयोगबारे जानकारी दिने कार्य गरेका थिए।
विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाका अनुसार SEE पश्चात विद्यालय छाड्ने विद्यार्थीहरूलाई लक्षित गरी सामाजिक उत्तरदायित्वबारे सचेत गराउने तथा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
सचेतनामूलक कक्षामा विद्यार्थीहरूलाई नेपाल प्रहरीको दैनिक कार्यसम्पादन, अपराध अनुसन्धान, विभिन्न कानुनी विषय, सवारी तथा यातायात व्यवस्थापनसम्बन्धी प्रावधान, ट्राफिक नियम, कारबाही तथा जरिवाना प्रक्रिया र सवारी दुर्घटना न्यूनीकरणमा नागरिकको भूमिकाबारे जानकारी गराइएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनसँगको समन्वयमा कक्षा १० मा अध्ययनरत ५३ जना विद्यार्थीहरूले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए।
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डे, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापा, विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापा, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
अनुशासन, सामाजिक व्यवहार तथा अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई अभ्यस्त गराउँदै आएको नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनले विभिन्न परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। विद्यालयले आगामी शैक्षिक सत्रका लागि कक्षा १ देखि ९ सम्म भर्ना खुला गरेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij