काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिक सेवाका लागि अवलम्बन गरेको नवीनतम मोडेल उत्कृष्ट रहेको बताएका छन्।प्रधानमन्त्री सुशीला कार्कीका साथमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँको सेवा प्रवाहको स्थितिबारे अनुगमन गर्न त्यहाँ पुगेका मन्त्री अर्यालले यहाँ कायान्वयनमा ल्याइएको प्रणाली देशभरका सरकारी कार्यालयका लागि नमूना भएको बताए।
नागरिकले पाउने सरकारी सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन यो प्रणाली उपयोगी र सान्दर्भिक भएको उनको भनाइ थियो। “नागरिकलाई सहज सेवा प्रवाहका लागि देशैभरि यो प्रणाली मानकका रूपमा अवलम्बन गर्न सकिन्छ, अब आउने सरकारका लागि पनि यो राम्रो मानक हुन्छ”, गृहमन्त्री अर्यालले भने, “७७ वटै जिल्ला र अन्य सेवा प्रवाह हुने ठाउँमा पनि यो मोडेल विस्तार गर्दा सरसफाइदेखि सेवा प्रवाह छिटो र छरितो हुने देखिन्छ। मोडेलमा सङ्घ, प्रदेश र स्थानीय तहको बलियो समन्वय र सहकार्य जरूरी छ।”
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई प्रभावकारी एवं जनमैत्री बनाउन सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ। आज एक कार्यक्रमबीच उक्त प्रणाली औपचारिक रूपमा सुरु गरिएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij