काठमाडौँ : अवैध रूपमा विदेशी मुद्रा बोकेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तीन जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार चैत ५ गते पौने १२ बजे चीनको ग्वाङझाउतर्फ जान लागेका यात्रुहरूलाई अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट अमेरिकी डलर बरामद गरिएको हो।
शरीर खानतलासी तथा ब्यागेज स्क्यानिङका क्रममा उनीहरूले लुकाई–छिपाई लैजान खोजेको अमेरिकी डलर फेला परेपछि तत्काल नियन्त्रणमा लिइएको सुरक्षा कार्यालयले जनाएको छ । पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुलचोक, ललितपुर पठाइएको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१ बस्ने ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ बस्ने ३८ वर्षीया संगिता लामा र सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–७ बस्ने ४७ वर्षीय विनोद लामा रहेका छन् ।
उनीहरूबाट क्रमशः १० हजार अमेरिकी डलर, १० हजार अमेरिकी डलर र ८,९०० अमेरिकी डलर गरी जम्मा २८,९०० अमेरिकी डलर बरामद गरिएको सुरक्षा कार्यालयले जनाएको छ । यस घटनाबारे थप अनुसन्धान जारी रहेको र विदेशी मुद्रा ओसारपसार नियन्त्रणमा कडाइ गरिएको कार्यालयले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij