काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक पूरा गरी बिहीबार गृह मन्त्रालयबाट बिदाइ भएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आजै पद तथा गोपनीयताको सपथ लिएसँगै शुक्रबार नयाँ सरकार गठन हुने तयारीकाबिच मन्त्री अर्यालले पदबाट बिदा लिएका हुन् ।
मन्त्रालयमा आज आयोजित विशेष बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले जेनजी जनआन्दोलन पछिको असामान्य र चुनौतीपूर्ण अवस्थामा जिम्मेवारी सम्हालेको स्मरण गरे। उनले आफ्नो कार्यकालमा शान्तिसुरक्षाको सामान्यीकरण, सुशासनको सुदृढीकरण र स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा ऐतिहासिक निर्वाचन सम्पन्न गर्नु नै मुख्य उपलब्धि रहेको बताए।
“निर्वाचन हुने वा नहुने भन्ने आशङ्काबीच हामीले प्रशासनिक समन्वय र सुरक्षा तयारीमार्फत निर्धारित समयमै निर्वाचन सम्पन्न गर्याैँ”, मन्त्री अर्यालले भने, “यसबाट संविधान सही बाटोमा आएको छ र यसको सम्पूर्ण श्रेय आमनागरिक, सुरक्षाकर्मी र कर्मचारीको सामूहिक प्रयासलाई जान्छ ।”
उनले आफ्नो कार्यकालमा भएका मुख्य कार्यलाई मन्त्रालयको संस्थागत अभिलेखका रूपमा हस्तान्तरण गरेका छन् । सो अवसरमा उनले जेनजी आन्दोलनका ४२ जना सुशासन योद्धा र तीन जना प्रहरीलाई सहिद घोषणा गरिएको, घाइतेको वर्गीकरण गरी जीविकोपार्जन भत्ताको व्यवस्था गरिएको र आन्दोलनमा क्षतिग्रस्त भएका ४६५ सरकारी कार्यालयको पुनर्निर्माण गरी सेवा सञ्चालन गरिएको जानकारी दिए।समारोहमा गृहसचिव राजकुमार श्रेष्ठले मन्त्री अर्यालको नेतृत्वमा मन्त्रालयले छोटो अवधिमा दुई दर्जनभन्दा बढी कानुन तर्जुमा तथा परिमार्जन गर्न सफल भएको र सुरक्षा निकायको मनोबल उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँको कार्यशैलीको प्रशंसा गरे ।मन्त्री अर्याल २०८२ भदौ ३० गते गृहमन्त्री नियुक्त भएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij