काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा रहेका व्यापारी दीपक भट्टलाई कालोसूचीमा राखिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई कालोसूचीमा राख्दै अध्यागमन विभागलाई जानकारी गराइसकेको छ भने उनको पासपोर्टसमेत रोक्का गरिएको छ ।
विभागका अनुसार अब उनी विदेश यात्रा गर्न पाउने छैनन् भने विदेशमा रहेका अवस्थामा नेपाल फर्किएमा पक्राउ गरिनेछ । हाल उनी सम्पर्कविहीन रहेको बताइएको छ ।
विभागले भट्टमाथि पक्राउ पुर्जी जारी गर्ने तयारीसमेत गरेको छ । शंकर ग्रुप र भट्टका विभिन्न कम्पनीबीच शंकास्पद वित्तीय कारोबार भएको निष्कर्षसहित अनुसन्धान अन्तिम चरणमा पुगेको बताइएको छ ।
प्रारम्भिक छानबिन अनुसार, इन्फिनिटी होल्डिङ प्रालिको चुक्ता पुँजी एक वर्षमै तीन करोडबाट ४८ करोड रुपैयाँ पुगेको र यसको स्रोत स्पष्ट हुन नसकेको उल्लेख छ । साथै, भट्टको व्यक्तिगत खातामा शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिल्सबाट करिब ४५ करोड रुपैयाँ आएको विवरणसमेत अनुसन्धानमा समावेश छ ।
त्यस्तै, हिमालयन रिइन्स्योरेन्स र इन्फिनिटी होल्डिङबीचको करोडौँको कारोबार पनि शंकास्पद देखिएको अनुसन्धान निकायहरूको निष्कर्ष छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले समेत भट्ट र उनको परिवारका खातामा अस्वाभाविक कारोबार भएको भन्दै पहिले नै सचेत गराएको बताइएको छ ।
विभागका अनुसार केही खाताहरूमा निर्धारित ऋण सीमाभन्दा बढी रकम आवतजावत भएको तथा ठूलो मात्रामा भुक्तानी र जम्मा भएको विवरण फेला परेको छ । यी सबै विषयलाई लिएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, सीआईबी, राजस्व अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित संयुक्त छानबिन अघि बढाइएको थियो ।
यसबीच, भट्टले उच्च राजनीतिक तथा प्रशासनिक तहमा प्रभाव विस्तार गर्ने प्रयास गरेको आरोपसमेत छानबिनका क्रममा उल्लेख भएको स्रोतहरूको दाबी छ । तर, हालसम्म कुनै पनि आरोप अदालतबाट प्रमाणित भने भएको छैन ।
विभागले सबै प्रमाण संकलन गरिसकेको र मुद्दा सरकारी वकिल कार्यालयमा पठाउने तयारी भइरहेको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij