काठमाडौं : सरकारी विद्युतीय बोलपत्र प्रणाली (ईबिडिङ) नै ह्याक गरेर ठूला ठेक्का लिने गरेको खुलिसकेको छ । बिशेष गरी सडक, खानेपानी, सहरी विकास मन्त्रालयका अरबौंका ठेक्का बिद्युतीय बोलपत्र प्रणाली ह्याक गरी लिनेमा ठूला निर्माण ब्यवसायीहरु नै रहेकाले नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।
सीआइबीले दुई महिना लामो अनुसन्धानपछि कारबाही प्रक्रिया अघि बढाइसकेको छ । सीआईबीले केही निर्माण ब्यवसायीलाई नियन्त्रणमा समेत लिएर अनुसन्धान अगाडि बढाएको छ । सीआईबीले अनुसन्धान अगाडि बढाएपछि बोलपत्रको सिष्टम ह्याक गरी अरबौंका टेण्डर हत्याउने निर्माण ब्यवसायी अब उम्कन नपाउने भएका छन् । सिष्टम ह्याक गरी ठेक्का लिनेमा आशिष निर्माण सेवाका निर्माण गौली, तुँदीका ऋषि सुवेदी लगायत भूमिगत भइसकेका छन् । उनीहरु पनि सीआईबीको छानबिनमा छन् ।
यसैक्रममा अनुसन्धान गर्दै जाने क्रममा नेपाली सेनाको काठमाडौं–तराई द्रुतमार्ग(फाष्टट्रयाक) निर्माणको बोलपत्र पनि ह्याक गरी ठेक्का लिएको पुष्टि हुने स्रोत बताउँछ । सीआईबीको अनुसन्धानको दायरामा सेनाको बोलपत्र ह्याक गर्ने पनि आउने भएका छन् । द कुमार–रोशन सिचुवान जेभीले यसरी ईबिडिङ सिष्टम ह्याक गरी ठेक्का लिएको आरोप लागेको हो ।
जनवरी १७, २०२२ मा फाष्टट्रयाकको प्याकेज ३ को ठेक्का एक हजार दिनमा सक्नेगरी द कुमार–रोशन सिचुवान जेभीले लिएका थिए । अक्टोबर २६, २०२४ मा सक्नेगरी सेनाको फाष्टट्रयाक आयोजना र द कुमार–रोशन सिचुवान जेभीबीच सम्झौता भएको थियो ।
ह्याकरको सहयोगमा सरकारी इबिडिङ सिष्टममा पहुँच पुर्याई प्रतिस्पर्धीको आर्थिक प्रस्ताव हेर्ने र त्यही अनुसार आफ्नो प्रस्ताव बनाएर पेश गरी ठेक्का लिने गरेको बिषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
सीआईबीले पछिल्ला सबै ठेक्कामा बोलपत्र सिष्टम ह्याक गरी ठेक्का लिएकोबारेमा अनुसन्धान गर्ने क्रममा द कुमार–रोशन सिचुवान जेभी पनि अनुसन्धानमा तानिने भएका छन् । सेनाको यो बोलपत्रमा मुख्य सिष्टम ह्याक गर्ने काम रोशन कन्ष्ट्रक्सनका संजय गुप्ता र कुमार कन्ष्ट्रक्सनका सुशीलकुमार श्रेष्ठले गरेकाले यो बोलपत्रको छानबिन गरीपाउँ भनी सीआईबीमा उजुरी परेको छ ।
उनीहरुले सडकदेखि अन्य धेरै निकाय र आयोजनाका ठेक्कामा बोलपत्र सिष्टम ह्याक गरी ठेक्का हत्याउने गरेको अनुुसन्धान गर्दै जाने हो भने खुुल्ने स्रोतको दाबी छ । स्रोत भन्छ, नेपालमा बोलपत्र सिष्टम ह्याक गर्ने मूख्य पात्र नै संजय गुप्ता हुन् । उनीमार्फत् नै निर्माण ब्यवसायीको एक समूहले बोलपत्र सिष्टम ह्याक गरी ठेक्का हत्याउने गरेका थिए । गुप्ताले जेटटीईमा काम गर्ने एक पूर्व कर्मचारीको सहयोगमा सिष्टम ह्याक गर्ने गरेको आरोप छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij