Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु

छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ :  शनिबार देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। बाँकेको कोहलपुर र बैजनाथ तथा चितवनको भरतपुरमा भएका यी दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको हो।

बाँकेको कोहलपुर नगरपालिका-१५ अकलघरूवामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा जाजरकोटकी ५७ वर्षीया देबीसरा रावतको घटनास्थलमै मृत्यु भयो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको नेपालगन्जमा उपचार भइरहेको छ भने प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ।

बाँकेकै बैजनाथ गाउँपालिका-३ जेठिनालामा बलेरोको ठक्करबाट २६ वर्षीय साइकलयात्री अधिस थारूको ज्यान गएको छ। ठक्करबाट गम्भीर घाइते भएका थारूको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले ठक्कर दिने बलेरो र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

यता चितवनको भरतपुर महानगरपालिका-५ सापकोटा चोकमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा २७ वर्षीय जय श्रीराम रायको मृत्यु भएको छ। बारा घर भई भरतपुर बस्दै आएका रायको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

दुर्घटनामा स्कुटरमा सवार अर्का एक जना घाइते भएका छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे थप अनुसन्धान अगाडि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट