नवलपरासी : पश्चिम नवलपरासीमा सवारी दुर्घटनामा परेर मृत्यु हुने र घाईते हुनेको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले परासीमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा सवारी दुर्घटनाको क्रम बढ्दो देखिएको छ। आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभर ६३६ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ४७ जनाको मृत्यु भएको छ भने ७२८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन थापाले जानकारी दिनुभयो । यसअघिको आर्थिक वर्ष २०८१/०८२ मा ३७८ वटा दुर्घटना हुँदा ४६ जनाको मृत्यु र ६०५ जना घाइते भएका थिए। तुलना गर्दा एक वर्षमै दुर्घटना संख्या २५८ ले बढेको देखिन्छ। मृत्यु हुनेको संख्या १ ले बढेको भए पनि घाइते हुनेको संख्या १२३ ले वृद्धि भएको तथ्यांकमा उल्लेख छ।
प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा १९५ वटा दुर्घटना भएका थिए। त्यस वर्ष २० जनाको मृत्यु र १६६ जना घाइते भएका थिए। पछिल्ला तीन वर्षको तथ्यांक हेर्दा दुर्घटना संख्या निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ।
आर्थिक वर्ष २०८२/०८३ मा दुर्घटनामा संलग्न सवारीसाधनमध्ये मोटरसाइकल सबैभन्दा बढी रहेको छ। तथ्यांकअनुसार मोटरसाइकल ४२८ वटा दुर्घटना भएको छ । त्यसपछि बस २७, टेम्पो २०, ट्र्याक्टर २०, ट्रक/ट्यांकर २८, मिनीबस ४ सहित कुल ६३६ दुर्घटना भएका छन् ।
दुर्घटनाबाट मृत्यु हुनेमध्ये पुरुषको संख्या सबैभन्दा बढी छ। तथ्यांकअनुसार ३५ पुरुष, ८ महिला, १ बालक र ३ बालिका गरी कुल ४७ जनाको ज्यान गएको हो। गम्भीर घाइते हुनेमा ६४ पुरुष, १० महिला, ६ बालक र ४ बालिका गरी ८ ४ जना रहेका छन्। सामान्य घाइते हुनेमा ४४७ पुरुष, १२५ महिला, ७२ बालबालिका गरी ६३४ जना रहेका छन्।
प्रहरीका अनुसार तीव्र गति, लापरवाहीपूर्वक सवारी चलाउने, ट्राफिक नियमको पालना नगर्नु, रातिको समयमा असावधानी तथा ग्रामीण सडकको अवस्था दुर्घटना बढ्नुका मुख्य कारण हुन सक्छन्। विशेषगरी मोटरसाइकल दुर्घटनाको संख्या धेरै हुनु चिन्ताको विषय बनेको छ। जिल्लामा दुर्घटना संख्या ह्वात्तै बढेपछि ट्राफिक व्यवस्थापन, सडक सुरक्षाबारे जनचेतना र नियम कार्यान्वयनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ। पछिल्लो समय नारायणगढ बुटवल सडक निर्माण भएपछि तिव्र गतिका कारण झनै दुर्घटना बढेको छ । साथै मादक पदार्थ र लागु औषध सेवन गरेर सवारी चलाउने गर्दा पनि दुर्घटना बढ्दो छ तर यसको चेकजाँच भने प्रभावकारी हुन सकेको छैन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राम बहादुर केसिले टाफिक प्रहरी संग समन्वय गरेर सडक सुरक्षाका सचेतनामुलक कार्यक्रम संञ्चालन गर्ने बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij