गुल्मी : गुल्मीमा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारकै क्रममा मृत्यु भएको छ। जिल्लाको सत्यवती गाउँपालिका–५ हसरा निवासी २२ वर्षीय पूर्ण सिउ थामी मगरको शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरीका अनुसार साउन २ गते राति घर नजिकै रहेको कदमको रुखमा अरिङ्गाल पोल्ने क्रममा उनीमाथि अरिङ्गालले आक्रमण गरेको थियो। घटनामा मगरको दुवै खुट्टा र दाहिने हातमा धेरै ठाउँमा टोकिएको थियो।
गम्भीर घाइते भएका उनलाई तत्काल मिसन अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएको थियो। उपचारका क्रममा स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखिएको थियो। लगातार उपचारका बाबजुद शुक्रबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij