Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’

‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’

जनकपुरधाम : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कानुनको समुचित कार्यान्वयन तथा समुदाय-प्रहरी साझेदारीबाट मात्र शान्तिपूर्ण समाज निर्माण सम्भव हुने बताएका छन्।

बेलायत सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा निर्माण सम्पन्न भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र तथा प्रहरी आवासका लागि निर्मित भवनको आज उद्घाटन गर्दै उनले शान्तिपूर्ण समाज निर्माणमा प्रहरीको एकल प्रयास पर्याप्त नहुने भएकाले समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित समस्या संवेदनशील र विशिष्टीकृत प्रकृतिका हुने भएकाले ती विषयलाई उच्च प्राथमिकतामा राखी विशेषज्ञतापूर्ण ढङ्गबाट सम्बोधन गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक कार्कीले हरेक नागरिकप्रति सम्मानपूर्ण व्यवहार गर्दै समानताको सिद्धान्तअनुसार सुरक्षा र न्याय सुनिश्चित गर्न सबै प्रहरी कर्मचारीलाई निर्देशन दिए।

नेपाल प्रहरीले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत नागरिकले प्रहरी कार्यालयमा उपस्थित नभई आफ्ना गुनासा, सूचना तथा निवेदन अनलाइनमार्फत दर्ता गर्नसक्ने व्यवस्था गरिएको उनले जानकारी दिए।

नेपाल प्रहरी आधुनिक प्रविधिको प्रयोगमार्फत सहज, प्रभावकारी र नागरिकमैत्री सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै महानिरीक्षक कार्कीले समाजमा रहेका कुरीतिका अवशेषहरूलाई हटाउन नसकिए समाज र राष्ट्र अघि बढ्न नसक्ने भएकाले यसलाई हटाउन प्रहरी र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताए।

नेपाल प्रहरी मधेश प्रदेशका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारीले मधेस प्रदेशमा मुख्य सुरक्षा चुनौतीको रूपमा देखिएको लागुऔषध सेवन र कारोबारीलाई तोड्न प्रहरी सक्रियताका साथ लागेकाले यसमा नागरिकको पनि साथ र सहयोग आवश्यकता औँल्याए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट