Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सम्पर्कविहीन ११ प्रहरीलाई अन्तिम चेतावनी, सात दिनभित्र नआए सेवाबाट बर्खास्त

सम्पर्कविहीन ११ प्रहरीलाई अन्तिम चेतावनी, सात दिनभित्र नआए सेवाबाट बर्खास्त

काठमाडौँ  : नेपाल प्रहरीका ११ जना कर्मचारी लामो समयदेखि सम्पर्कविहीन भएका छन्। आफूखुसी ड्युटीमा गैरहाजिर रहेका उनीहरूलाई प्रहरी प्रधान कार्यालय, नक्सालले सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। सोमबार सूचना जारी गर्दै कार्यालयले बाटोको म्यादबाहेक सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको हो।

यसअघि खोजतलास गर्दा र कार्यालयमा सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा आएका थिएनन्। प्रहरी प्रधान कार्यालयले ‘तोकिएको समयमा सम्पर्कमा नआए सेवाबाट बर्खास्त गरिने’ चेतावनी दिएको छ। तोकिएको म्यादभित्र स्पष्टीकरणसहित उपस्थित नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही हुने सूचनामा उल्लेख छ। सार्वजनिक सूचनामार्फत उनीहरूलाई सफाइको अन्तिम मौका दिइएको प्रधान कार्यालयले जनाएको छ।

सम्पर्कविहीन हुनेमा दुई जना प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) रहेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी दरबन्दी भएका प्र.स.नि. तीर्थबहादुर बुढा र इलाका प्रहरी कार्यालय लेकबेसी, सुर्खेतका प्र.स.नि. दुर्गाराज मल्ल लामो समयदेखि गैरहाजिर छन्।

त्यसैगरी, ओखलढुंगामा प्रमुख जिल्ला अधिकारीको निवास गार्डमा कार्यरत प्रहरी जवान नागेश्वर यादव, मधेस प्रदेश प्रहरी तालिम केन्द्रका प्राविधिक प्रहरी जवान सुबोधप्रसाद पटेल र भरतपुर विमानस्थल सुरक्षा गार्डका जवान देवकृष्ण राउत पनि सम्पर्कमा छैनन्। इलाका प्रहरी कार्यालय चन्द्रावती, तनहुँकी जवान जयन्ती थापामगर र इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका जवान सञ्जय परियारलाई पनि स्पष्टीकरणसहित हाजिर हुन भनिएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्राविधिक प्रहरी जवान गीता मेदासी र प्रहरी जवान राजकुमार रावत पनि आफूखुसी गैरहाजिर छन्। यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका जवान ध्रुवराज पाध्या र कारागार सुरक्षा गार्ड लमजुङका प्रहरी कार्यालय सहयोगी सुरेश कुमाल पनि लामो समयदेखि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

2026-07-26-11-49-29-2083-04-11-17_Kq5lhCIdKs (1).jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट