Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सुनसरीका नवनियुक्त सिडिओ इश्वरी प्रसाद अर्यालले सम्हाले कार्यभार

सुनसरीका नवनियुक्त सिडिओ इश्वरी प्रसाद अर्यालले सम्हाले कार्यभार

सुनसरी : सुनसरीका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (सिडिओ) इश्वरी प्रसाद अर्यालले कार्यभार सम्हालेका छन्। संखुवासभाको प्रमुख जिल्ला अधिकारीबाट सुनसरी सरुवा भएका अर्यालले सोमबार राति करिब १० बजे जिल्ला प्रशासन कार्यालय पुगेर जिम्मेवारी सम्हालेका हुन्।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएर अर्याललाई सुनसरी पठाएको हो। घटनापछि जिल्लास्थित सुरक्षा निकायका प्रमुखसमेत परिवर्तन गरिएका छन्। कार्यभार सम्हालेलगत्तै अर्यालले जिल्लाको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। उनले घटनापछि आन्दोलनमा रहेका दुवै पक्षलाई छुट्टाछुट्टै वार्ताका लागि बोलाउँदै संवादमार्फत समस्या समाधान गर्ने पहल अघि बढाएका छन्।

अर्यालले जिल्लामा शान्ति–सुरक्षा, सामाजिक सद्भाव र आपसी एकता कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। उनले संवेदनशील अवस्थामा सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गर्दै संवाद र सहमतिबाट निकास खोजिने विश्वास व्यक्त गरेका छन्। कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो। घटनामा नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए।

घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। घटनापछि कोशी प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाएर उनको स्थानमा डीआईजी शेखर खनाललाई पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबेको पनि सरुवा गरिएको छ। खनालले समेत सोमबार राति नै विराटनगर पुगेर कोशी प्रदेश प्रहरी प्रमुखको कार्यभार सम्हालेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट