Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

दार्माका भूकम्पपीडित अझै छानोविहीन भएको भन्दै सांसद मल्लद्वारा सरकारको आलोचना

दार्माका भूकम्पपीडित अझै छानोविहीन भएको भन्दै सांसद मल्लद्वारा सरकारको आलोचना

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले जनजीविकाका विविध समस्या र सल्यान जिल्लाका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद मल्लले किसानले समयमै रासायनिक मल नपाएको र बजारमा खाना पकाउने ग्यासको आपूर्ति अत्यन्त न्यून रहेको बताएका हुन्। 

बारम्बार विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या र फितलो सञ्चार सेवाका कारण नागरिकहरू आजित भएको उल्लेख गर्दै उनले यी सेवाहरूलाई व्यवस्थित र नियमित बनाउन माग गरेका छन्। स्वास्थ्य क्षेत्रको समस्या औँल्याउँदै मल्लले सल्यान अस्पतालमा महिनौँदेखि चिकित्सक उपलब्ध नहुँदा बिरामीहरू मर्कामा परेको जानकारी गराएका छन्।

‘स्वदेशी आलुले उचित मूल्य पाएको छैन,’ सांसद मल्लले भने, ‘छिमेकी मुलुकबाट आयातित आलुले बजार कब्जा गर्दा हाम्रा किसानहरू मारमा परेका छन्।’ स्वदेशी उत्पादनको संरक्षण र उचित मूल्य निर्धारणका लागि सरकारले प्रभावकारी नीति ल्याउन जरुरी रहेको उनले स्पष्ट पारेका छन्।

सांसद मल्लले जाजरकोट भूकम्पबाट प्रभावित सल्यानको दार्मा गाउँपालिकामा आवास पुनर्निर्माणको प्रगति शून्य रहेको प्रति कडा आपत्ति जनाएका छन्। सङ्घीय सरकारले स्थानीय तहको कानुन बमोजिम तयार पारिएको विस्तृत क्षति प्रतिवेदन (डीडीए) स्वीकृत नगरेको र प्राविधिक पठाउन पटक-पटक आग्रह गर्दा पनि तीन महिनासम्म कुनै पहल नगरेको उनले आरोप लगाएका छन्। सरकारी उदासीनताकै कारण भूकम्प प्रभावित नागरिकहरू अझै पनि छानोविहीन बस्न बाध्य भएको सांसद मल्लले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट