Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सुनसरी घटना, सीमा सुरक्षा र प्रधानमन्त्रीको उपस्थितिलाई लिएर संसद्‌मा सरकारको ध्यानाकर्षण

सुनसरी घटना, सीमा सुरक्षा र प्रधानमन्त्रीको उपस्थितिलाई लिएर संसद्‌मा सरकारको ध्यानाकर्षण

काठमाडौँ : प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा सांसदहरूले मुलुकको पछिल्लो सुरक्षा अवस्था, धार्मिक सद्भाव, दैवीप्रकोप र सरकारको कार्यशैलीप्रति ध्यानाकर्षण गराएका छन्।

बैठकमा बोल्दै सांसद अप्सना बानुले सुनसरी लगायतका क्षेत्रमा पछिल्लो समय भएका हिन्दु र मुस्लिम समुदायबीचको झडपप्रति चिन्ता व्यक्त गरेकी छन्। समाजमा शान्ति कायम गर्न गोली प्रहार गर्ने कार्य समाधान नभएको उल्लेख गर्दै उनले प्रशासनलाई सामाजिक चेतना र संयमता अपनाउन आग्रह गरेकी हुन्।

सांसद अम्बिकादेवी संग्रौलाले प्रधानमन्त्रीले जेठ १७ गते दिएको अभिव्यक्ति सच्याउन माग गरेकी छन्। सुनसरीको देवानगन्ज र कप्तानगञ्जमा भएको धार्मिक द्वन्द्वलाई संवाद र सहकार्यका माध्यमबाट समाधान गर्न उनले जोड दिएकी छन्। सांसद आशिका तामाङले प्रहरी महानिरीक्षकले शरणार्थीका विषयमा दिएको अभिव्यक्ति र सुनसरी घटनाको सम्बन्धबारे प्रश्न उठाएकी छन्। उनले नेपालको सीमा क्षेत्रलाई सुरक्षित बनाउन पर्खाल वा काँडेतार लगाएर सुरक्षा निकाय परिचालन गर्न माग गरेकी छन्।

सांसद इन्दिरा राना मगरले सुनसरी घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। उनले सीमा क्षेत्रमा शिक्षा र स्वास्थ्यको अभाव रहेकोतर्फ पनि ध्यानाकर्षण गराएकी छन्। संसदीय प्रक्रिया र सरकारको उपस्थितिबारे बोल्दै सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री संसद्मा कम उपस्थित भएको र संसद्को उपेक्षा गरिएको आरोप लगाएका छन्। मुलुकमा बढ्दो आत्महत्या, महँगी र आर्थिक मन्दी जस्ता गम्भीर विषयमा सरकार संवेदनशील नदेखिएको टिप्पणी उनले गरेका छन्।

प्राकृतिक प्रकोपका विषयमा बोल्दै सांसद डा. अर्जुनकुमार कार्कीले हालैको वर्षा र पहिरोका कारण संखुवासभाको सिलिचोङ र धर्मदेवी नगरपालिकाका विद्यालयहरूमा भएको क्षतिबारे जानकारी गराएका छन्। उनले क्षतिग्रस्त विद्यालयहरूको तत्काल पुनर्निर्माण, स्थानान्तरण र विद्यार्थीका लागि शैक्षिक सामग्रीको व्यवस्था गर्न माग गरेका छन्। सांसद एलिजा गुरुङले गोरखाका दुर्गम क्षेत्रहरू धार्चे र चुमनुब्री गाउँपालिकाको विकासका लागि ती क्षेत्रलाई राजनीतिक अग्राधिकारसहितको स्वायत्त क्षेत्र घोषणा गर्न सरकारसँग अनुरोध गरेकी छन्। बैठकमा सांसदहरूले जनजीविकासँग जोडिएका विविध मुद्दाहरूमा सरकारको सक्रियता र जवाफदेहिताको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट