Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

नेपालमा पाटे बाघको संख्या ४२९ पुग्यो, संरक्षणसँगै चुनौती पनि बढ्यो

नेपालमा पाटे बाघको संख्या ४२९ पुग्यो, संरक्षणसँगै चुनौती पनि बढ्यो

काठमाडौँ : नेपालमा पाटे बाघको संख्या उल्लेख्य रूपमा बढेको छ। पछिल्लो सर्वेक्षणअनुसार नेपालमा बाघको संख्या ४२९ पुगेको छ। सन् २००९ मा १२१ वटा रहेको बाघको संख्या १७ वर्षको अवधिमा तीन गुणाभन्दा बढीले वृद्धि भएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चार वर्षअघि गरिएको गणनामा ३५५ वटा बाघ रहेकामा अहिले ७४ वटा थपिएका छन्। बाघ संरक्षणमा भएको सफलताले उत्साह बढाए पनि मानव–बाघ द्वन्द्व र बासस्थान व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ।

सर्वेक्षणमा चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा बाघको अवस्था अध्ययन गरिएको थियो। चितवनमा यसपटक करिब १४५ वटा बाघ रहेको अनुमान गरिएको छ। पर्सामा ४१ बाट बढेर ७१ र बाँकेमा २५ बाट बढेर ५१ वटा पुगेको देखिएको छ। सर्वेक्षणले बाघहरू मानव गतिविधि कम भएका एकान्त वन क्षेत्रमा सर्दै गएको देखाएको छ। केही बाघ निकुञ्ज बाहिरका वन क्षेत्रमा समेत विचरण गर्न थालेका छन्।

विज्ञहरूका अनुसार नेपालका वन क्षेत्रले हाल करिब ५०० वटासम्म बाघ धान्न सक्ने क्षमता राख्छन्। तर बाघको संख्या बढेसँगै मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण, बासस्थान संरक्षण र व्यवस्थापनमा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। पछिल्लो सात वर्षमा बाघको आक्रमणबाट कम्तीमा ३८ जनाको मृत्यु भएको तथ्यांक छ। संरक्षणकर्मीहरूले बाघ स्वभावैले मानिसबाट टाढा बस्न चाहने जनावर भएकाले सचेतना र उचित व्यवस्थापनमार्फत सहअस्तित्व सम्भव रहेको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij