रुकुम पश्चिम : रुकुम पश्चिमको आठविसकोट नगरपालिका–०४ छोटेबगरबाट करिब तीन किलोग्राम अफिमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्ने क्रममा एक जनाले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो।
पक्राउ पर्नेमा आठविसकोट नगरपालिका–०३ स्यालाखदी बस्ने २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट नगरपालिका–०२ स्याला बस्ने २० वर्षीय गणेश वली रहेका छन्। सडकछेउमा शङ्कास्पद अवस्थामा हिँडिरहेको बेला प्रहरी टोलीले उनीहरूलाई रोकेर चेकजाँच गर्न खोजेको थियो।
चेकजाँचका क्रममा टिकाराम बोहराले बोकेको झोलाबाट गणेश वलीले अचानक खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरे। त्यसपछि प्रहरी सहायक निरीक्षक नीरजबहादुर पालले एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएका हुन्।
नियन्त्रणमा लिएपछि उनीहरूको शरीर तथा झोला खानतलासी गर्दा करिब तीन किलोग्राम अफिम र दुई थान खुकुरी बरामद भएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij