विराटनगर : सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले सरकारसँग सहमति भइसकेपछि पनि शव बुझ्न अस्वीकार गरेका छन्। यससँगै शुक्रबार गर्ने भनिएको अन्त्येष्टि कार्यक्रम अनिश्चित बनेको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा सरकार र पीडित पक्षबीच भएको ७ बुँदे सहमतिअनुसार शव बुझेर अन्त्येष्टि गर्ने सहमति भएको थियो। तर स्थानीयको असन्तुष्टि र विरोधका कारण परिवारका सदस्य शव नबुझी गाउँ फर्किएका छन्।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शव बुझाउने विषयमा अवरोध गर्ने पक्षसँग छलफल भइरहेको र समन्वयमार्फत समाधान खोज्ने प्रयास जारी रहेको बताएका छन्।
गत आइतबार राति दुई समुदायबीच भएको तनावका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। घाइते भएका जयप्रकाश मेहताको भने उपचारका क्रममा बिहीबार निधन भएको थियो। दुवैको शव अहिले विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको छ।
सरकार र पीडित पक्षबीच भएको सहमतिअनुसार मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत दिने, दोषीमाथि कारबाही गर्ने, परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउने, छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने र स्मृति पार्क निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ।
यता, सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर ज्यान गुमाएका गणेश यादवका परिवारसँग पनि यस्तै प्रकृतिको सहमति हुनुपर्ने माग उठेपछि देवानगञ्जका मृतकको शव बुझाउने प्रक्रिया थप प्रभावित भएको बताइएको छ। घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा भएको हिंसा र प्रदर्शनका कारण लगाइएको कर्फ्यु अझै जारी छ। आगजनी, तोडफोड र झडपका घटनापछि अवस्था केही सामान्य बन्दै गए पनि जिल्लामा सुरक्षा सतर्कता कायम राखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij