Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

साइबर ब्यूरोमा अपराध अनुसन्धान गर्न डिजिटल फरेन्सिक ल्याब नै छैन : आईजीपी कार्की

साइबर ब्यूरोमा अपराध अनुसन्धान गर्न डिजिटल फरेन्सिक ल्याब नै छैन : आईजीपी कार्की

काठमाडौँ : प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले साइबर अपराध अनुसन्धान गर्न डिजिटल फरेन्सिक ल्याब नै साइबर ब्यूरोमा नभएको बताएका छन्।

सोमवार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा भएको साइबर सुरक्षासम्बन्धी छलफलमा उनले साइबर ब्यूरोमा आवश्यक डिजिटल फरेन्सिक उपकरण र अत्याधुनिक सफ्टवेयरको अभाव रहेको बताए।

उनले हाल केही पुराना उपकरण भए पनि अपर्याप्त भएकाले प्रत्येक डिजिटल डिभाइस परीक्षण गर्न लामो समय लाग्ने गरेको बताए।

साइबर अपराध अनुसन्धानमा डिजिटल फरेन्सिक अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै उनले प्रत्येक मोबाइल, कम्प्युटर वा अन्य विद्युतीय उपकरणको वैज्ञानिक परीक्षण गर्नुपर्ने बताए।

डिजिटल फरेन्सिकबाट मेटाइएका सामग्रीसमेत पुनः प्राप्त गर्न सकिने भएकाले यसले अनुसन्धानमा महत्वपूर्ण प्रमाण उपलब्ध गराउने उनको भनाइ छ। 

तर आवश्यक सफ्टवेयर, उपकरण र दक्ष जनशक्तिको अभावका कारण अनुसन्धान प्रभावित भइरहेको उनले बताए। आईजीपी कार्कीले नेपाल प्रहरीको डिजिटल फरेन्सिक प्रयोगशालामा अत्यधिक कार्यबोझ रहेको उल्लेख गरे।

प्रहरीसँग भएको क्षमताले २४ सै घण्टा काम गर्दा पनि आगामी चार वर्षसम्मको मुद्दाको ब्याकलग रहेको उनको भनाई छ। 

उनले आवश्यक उपकरण र जनशक्ति अभावकै कारण अदालतमा छिटो टुंगिन सक्ने मुद्दासमेत चार वर्षसम्म ढिलाइ हुने अवस्था सिर्जना भएको बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij