कपिलवस्तु : कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। शिवपुराबाट जगदिशपुरतर्फ जाँदै गरेको लु.प्र. ०१–००३ प १५६१ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–६ गोवरीका २५ वर्षीय अक्षय श्रीवास्तव तथा पछाडि सवार २५ वर्षीय मुरेली यादव र २९ वर्षीय प्रतिक जैसवाल घाइते भएका थिए। घाइतेमध्ये मुरेली यादव र प्रतिक जैसवाललाई उपचारका लागि जिल्ला अस्पताल कपिलवस्तु लगिएको थियो।
अस्पतालमा उपचारका क्रममा चिकित्सकले साँझ ५ः३५ बजे मुरेली यादवलाई मृत घोषणा गरेका थिए। गम्भीर घाइते प्रतिक जैसवाललाई थप उपचारका लागि साँझ ५ः५५ बजे भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। चालक अक्षय श्रीवास्तव फरार रहेकाले उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij