काठमाडौं : एकपछि अर्को विवादमा पर्दै आएका जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालमाथि कारबाही प्रक्रिया अघि बढेको छ । कोशी प्रदेश प्रहरी कार्यालयले उनीसँग २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
कटवालका कामकारबाहीका कारण सिंगो प्रहरी नै बदनाम हुँदै गएपछि उनीमाथि कारबाही प्रक्रिया अघि बढेको हो । अवैध सामान रहेको सूचनाका आधारमा मोरङ प्रहरीले सोमबार विराटनगरको देवेनरा ग्रुपको कार्यालय तथा व्यवसायी एवं उद्योगी प्रकाश मुन्दडाको घरमा छापा हानेको थियो । तर, कुनै अवैध सामान बरामद भएन ।मुन्दडाको घरमा ५ घण्टासम्म छापा मारेको मोरङ प्रहरी केही नभेटी फर्किएको थियो । सोही प्रकरणमा कटवालसँग स्पष्टीकरण मागिएको हो ।
कुनै आंतकवादीकै घरमा छापा हानेको शैलीमा सिंगो सडक नै बन्द गराएर खानतालासी लिइएको थियो। प्रहरीको सुराकी गलत भएको पुष्टि भएपछि विरानटगरका व्यवसायीले प्रहरीमाथि प्रश्न उठाइरहेका छन्। पछिल्लो समय विविध कारणले व्यवसायीको मनोबल खस्कदै गएको छ। अझै साम्प्रदायिक तनावका कारण पनि व्यवसायी थप त्रसित छन्।
यस्तो बेलामा मोरङ प्रहरीले विराटनगरकै चर्चित व्यवसायीको घरमा हचुवाको भरमा छापा हानेको घटनाले सिंगो प्रहरी नै विवादमा मुछिएको थियो। जसकारण कारबाही प्रक्रिया अघि बढेको प्रदेश प्रहरी कार्यालय स्रोत बताउँछ।
जिम्मेवारीमा लापरबाही, अधिकारको अनुचित प्रयोग, निर्णय प्रक्रियामा त्रुटि, व्यवसायिक आचरणजस्ता विषयमा प्रष्ट पार्न भन्दै कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी योगेन्द्रसिंह थापाले हस्ताक्षर गरेर स्पष्टीकरणको पत्र पठाएका हुन् । त्यस्तै छापा मार्ने क्रममा ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपर्ने अपरिहार्य कारण के थियो भनेर जवाफ मागिएको छ ।
‘विशेष सूचनाको आधार’ मा भन्दै प्रहरीले सोमबार बिहान करिब ४ बजेतिरै खानतलासी सुरु गरेको थियो । मुन्दडा निवास मात्रै हैन, राजमार्ग समेत ‘सिल’ गरेर करिब साढे पाँच घण्टासम्म प्रहरीले खानतलासी गरेको थियो ।
मोरङ प्रहरीले यसरी हचुवाको भरमा चर्चित व्यक्तिको घरमा छापा हानेको पहिलोपटक होइन। यसअघि कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री इन्द्रमणि पराजुलीको सरकारी क्वार्टरमा असार ४ गते छापा हानेको थियो।
कोही फरार व्यक्ति लुकेको आशंका त्यसरी प्रहरीले छापा हानेको थियो । तर, कोही नभेटिएपछि प्रहरीले मन्त्रीसँग माफी माग्नु परेको थियो।
यस्ता घटना बारम्बार दोहोरिएपछि एसपी कटवालको कार्यक्षमतामाथि प्रश्न उठिरहेको छ। यती गम्भीर विषयमा सूचनालाई भेरिफाई नगरी हचुवाको भरमा उनले छापा हान्ने गरेको प्रष्ट भएको छ । यो प्रकरणमा सिंगो प्रहरी नै बदनाम भइरहेको छ।
स्रोतका अनुसार एसपी कटवाल आईजीपी दानबहादुर कार्कीका विश्वासपात्र मानिन्छन् । मोरङ प्रहरीका पटक–पटकका यस्ता हर्कतहरु प्रधनमन्त्री बालेन्द्र शाह ‘बालेन’ समक्ष पुगिसकेकाले एसपी कटवालमाथि कारबाही हुने सम्भावना रहेको प्रहरी अधिकारीहरु नै बताउँछन् ।
तोकिएको अवधिभित्र चित्त बुझ्दो स्पष्टीकरण प्राप्त नभए एसपी कवित कटवालमाथि विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइने कोशी प्रदेश प्रहरी कार्यालयले चेतावनी दिएको छ ।
एसपी कटवाललाई के-के प्रश्न सोधियो ?
१. बेनी गोपाल मुन्दडाको घरमा प्रहरी परिचालन गर्ने निर्णय कुन सूचना, तथ्य वा विश्वसनीय गोप्य सूचनाको आधारमा गर्नु भएको हो ? प्राप्त सूचनाको विश्वसनीयता परीक्षण कसरी, कसबाट र कुन अभिलेखको आधारमा गर्नु भएको थियो ?
२. ठूलो संख्यामा प्रहरी परिचालन गर्नु अपरिहार्य हुने वस्तुगत कारण के थियो ?
३. परिचालन आदेश कसको स्वीकृतिमा, कुन समय र कुन अभिलेखका आधारमा जारी गरिएको थियो ?
४. खानतलासीका लागि आवश्यक कानुनी प्रक्रिया, आवश्यक स्वीकृति तथा लागू हुने कानुनी प्रावधानहरूको पालना कसरी गर्नु भयो वा गराउनुभयो ? खानतलासी गर्नु पूर्वका सबै कानुनी तथा कार्यविधिगत प्रक्रियाहरू पुरा गर्नु भएको थियो वा थिएन ?
५. उक्त कारबाहीबाट प्राप्त उपलब्धि बरामद भएको वस्तु वा पक्राउसम्बन्धी विवरण के छ ?
६. यदि कुनै आपराधिक प्रमाण वा बरामदी हुन सकेको थिएन भने, यति ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको आवश्यकता र औचित्य के थियो ?
७.उक्त कार्यबाट विराटनगरका उद्योगी, व्यापारी तथा सर्वसाधारणमा त्रास उत्पन्न भएको, प्रहरी सङ्गठनको व्यावसायिक छविमा असर परेको तथा सार्वजनिक विश्वासमा प्रतिकूल प्रभाव परेको भन्ने विषयमा तपाईंको धारणा के छ ?
८. तपाईले सम्पन्न गरेको कार्यमा प्रहरी नियमावली, आन्तरिक कार्यविधि तथा व्यावसायिक आचारसंहिताको पूर्ण पालना भएको पुष्टि गर्ने आधारहरू के-के छन् ?
९. यस घटनामा तपाईको व्यक्तिगत निर्णय, निर्देशन तथा जिम्मेवारीको सीमा स्पष्ट रूपमा खुलाई पेस गर्नुहोस् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij