काठमाडौं : नेपाली कांग्रेस नेता अभिषेक गिरी कारागार चलान भएका छन् । विराटनगर महानगरपालिका–८, मधुमाराका ४८ वर्षीय अभिषेकविरुद्ध निर्माण व्यवसायी सुवास श्रेष्ठले विभिन्न प्रभावका आधारमा ठेक्का पारिदिने भन्दै रकम असुल गरेको आरोपमा उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गिरीलाई गएको असार २३ गते मोरङबाट पक्राउ गरेको थियो । सुवासको उजुरीका आधारमा अनुसन्धान गरेको सीआईबीले गिरीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको भन्दै पीडितलाई भराउने गरी मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।
सीआईबीकै रायका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गिरीविरुद्ध साउन १५ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । सोही मुद्दामा काठमाडौं जिल्ला अदालतले गिरीलाई पाँच लाख रुपैया धरौटीमा छाड्न आदेश गरेको थियो । तर, धरौटीबापतको पाँच लाख रुपैयाँ बुझाउन नसकेपछि गिरी थुनामा पुगेका हुन् ।
श्रेष्ठले पाएको ठेक्का आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिमार्फत सम्पन्न गरिदिने भन्दै अभिषेकले ठगी गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । यसअघि मोरङ कारागारका कैदी बन्दीहरुबाट असुली गरेको घटनामा अदालतबाट हाजिर जमानीमा छुटेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनः पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।
त्यसुअघि पनि उनी अपहरण तथा शरीर बन्धक मुद्दामा उनी ९ वर्ष जेल बसेर २०७९ चैत ५ मा छुटेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij