चितवन : भरतपुर महानगरपालिका–११ गणेशस्थानस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गणेशधाममा नेपालमै पहिलोपटक तीनदिने ‘गणेश उत्सव–२०८३’ आयोजना हुने भएको छ। गणेश चतुर्थीको अवसर पारेर भदौ २९, ३० र ३१ गते आयोजना गरिने उत्सवलाई धार्मिक पर्यटन प्रवर्द्धन, सनातन संस्कृतिको संरक्षण तथा गणेशधामको राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको हो।
गणेशधाम संरक्षण संवर्द्धन समितिले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी उत्सवका कार्यक्रम सार्वजनिक गरेको हो। समितिका संस्थापक अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक दिनेश कुमार चुकेले नेपालमै पहिलोपटक सामूहिक रूपमा यस स्तरको गणेश उत्सव आयोजना गर्न लागिएको जानकारी दिए। उनका अनुसार गणेशधाम पौराणिककालदेखि नै सिद्धिविनायक गणेशको क्रीडास्थलका रूपमा परिचित रहँदै आएको छ भने नारायणी–गण्डकी नदीको तटमा अवस्थित यो धाम मध्यनेपालकै महत्वपूर्ण धार्मिक तीर्थस्थलमध्ये एक हो।
उनले इतिहासअनुसार पाल्पाली राजा मणिमुकुन्द सेनले देवघाटमा तीर्थवास गर्ने क्रममा गणेशधाममा पूजा गरी यसको संरक्षणको व्यवस्था मिलाएको उल्लेख गरे। नेपाल एकीकरण अभियानका क्रममा पश्चिमतर्फ प्रस्थान गरेका वीर नेपाली सैनिकले पनि यहाँ दर्शन गरेर विजय प्राप्त गरेको जनविश्वास रहिआएको उनले बताए।
समितिका अध्यक्ष राजन श्रेष्ठका अनुसार वि.सं. २०१३ मा स्थानीय धार्मिक तथा सामाजिक अगुवाले रुखको फेदबाट उत्खनन गरी प्राप्त ऐतिहासिक गणेश मूर्तिलाई विधिवत् स्थापना गरेपछि यो स्थान ‘सिद्ध गणेशस्थान’का रूपमा परिचित भएको हो। वि.सं. २०७५ देखि दीर्घकालीन गुरुयोजनाअनुसार गणेशधामको संरक्षण, पूर्वाधार विकास तथा धार्मिक गतिविधि विस्तारका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
पत्रकार सम्मेलनमा गणेश चतुर्थी हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व भएको उल्लेख गर्दै भगवान् गणेशलाई विघ्नहर्ता, ज्ञान, बुद्धि, समृद्धि र शुभलाभका देवताका रूपमा पूजा गर्ने परम्परा रहेको जानकारी दिइयो। गणेशको आराधनाले जीवनका बाधा–अड्चन हट्ने, बुद्धि–विवेक बढ्ने तथा सुख–समृद्धि प्राप्त हुने धार्मिक विश्वासका कारण गणेश चतुर्थीको महत्व वर्षेनी बढ्दै गएको समितिको भनाइ छ।
उत्सवअन्तर्गत भदौ २८ गते पूर्वाङ्ग कर्म तथा जलयात्राबाट कार्यक्रमको सुरुआत हुनेछ। भदौ २९ गते उत्सवमूर्तिको स्थापना, विशेष पूजाअर्चना, गणेश महिमागान तथा आरती गरिनेछ। ३० गते दुबो, लड्डु, समीपत्रलगायत भगवान् गणेशका प्रिय सामग्रीद्वारा विशेष पूजा, भजन–कीर्तन तथा धार्मिक प्रवचन सञ्चालन गरिनेछ। ३१ गते समापन पूजा, पूर्णाहुति, अभिषेक, प्रसाद वितरण तथा बाजागाजासहित नगरपरिक्रमा गरी उत्सवमूर्तिलाई नारायणी नदीमा विसर्जन गर्दै उत्सव समापन गरिने कार्यक्रम तय गरिएको छ। तीनै दिन विद्वान् आचार्यहरूबाट गणेश महिमासम्बन्धी प्रवचन र भक्ति कार्यक्रम सञ्चालन हुने समितिले जनाएको छ।
उत्सव सफल बनाउन दिनेश कुमार चुकेको संयोजकत्वमा मूल आयोजक समितिसहित ११ वटा उपसमिति गठन गरिएको छ। कार्यक्रममा गलेश्वर आश्रम देवघाटका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मात्रदगिरी, हरिहर संन्यास आश्रमका पीठाधीश तथा नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती र महेश संन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्दगिरी संरक्षकका रूपमा रहनेछन्। प्रसिद्ध कथावाचक बालकृष्ण अर्याल प्रमुख वक्ताका रूपमा सहभागी भई गणेश महिमा वाचन गर्ने कार्यक्रम रहेको छ।
आयोजकका अनुसार उत्सवमा धार्मिक तथा सामाजिक संघ–संस्था, टोल विकास संस्था, आमा समूह, सत्सङ्ग परिवार, सन्त–महन्त, सञ्चारकर्मी तथा देशभरबाट आउने हजारौँ श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको छ। समितिले यस उत्सवलाई आगामी वर्षहरूमा राष्ट्रियस्तरको धार्मिक पर्वका रूपमा स्थापित गर्दै गणेशधामलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
पत्रकार सम्मेलनमार्फत आयोजकले सम्पूर्ण श्रद्धालु, धार्मिक संघ–संस्था, सञ्चारमाध्यम तथा स्थानीयवासीलाई उत्सवमा सहभागी भई सफल बनाउन आग्रह गर्दै भगवान् श्रीगणेशको आशीर्वादले समाजमा शान्ति, सद्भाव, समृद्धि र धार्मिक चेतनाको विकास हुने विश्वास व्यक्त गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij