Logo

Aug 09 2026 | २०८३, श्रावण २४गते

कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

कपिलवस्तु  : कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएका छन्। शुक्रबारदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव निरन्तर खोजी गर्ने क्रममा आइतबार जंगलको बीच भागमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार सिंहको खोजी गर्ने क्रममा जंगलको बीच भागमा शव भेटिएको हो। सिंहले प्रयोग गर्ने मोटरसाइकल पनि जंगलमै रोकिराखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नो घरबाट निस्किएका थिए। घरबाट निस्किएको करिब डेढ घण्टापछि अर्थात् साढे ३ बजेतिर उनले आफू निकटका केही व्यक्तिलाई फोन गरी ‘जंगलमा बाटो बिर्सिएँ’ भन्दै जानकारी गराएका थिए।

त्यसपछि आफन्तसहितको टोली उनको खोजीमा निस्किएको थियो। खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा सिंहले प्रयोग गर्ने लु.प्र.०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो।

शुक्रबारदेखि नै प्रहरी, स्थानीय बासिन्दा र आफन्तले जंगल क्षेत्रमा निरन्तर खोजी गरिरहेका थिए। स्थानीयका अनुसार सिंह आफ्नो समूहले सञ्चालन गर्दै आएको कृषि फार्मतर्फ जाने क्रममा जंगलमा हराएका थिए। छोटो बाटो हुने भन्दै उनले जंगलको बाटो प्रयोग गरेको बताइएको छ।

सिंहको शव भेटिएपछि प्रहरीले घटनास्थलको मुचुल्का तथा अन्य आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट