Logo

Aug 09 2026 | २०८३, श्रावण २४गते

उपत्यकाका ५५ डिपोमा प्रहरी तैनाथ गरी थालियो ग्यास वितरण

उपत्यकाका ५५ डिपोमा प्रहरी तैनाथ गरी थालियो ग्यास वितरण

काठमाडौं : बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव र कालोबजारी बढेपछि त्यसलाई नियन्त्रण गर्न प्रशासनले कडाइ थालेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उपत्यकाका ५५ वटा ग्यास डिपोमा सुरक्षाकर्मी परिचालन गरी व्यवस्थित र पारदर्शी रूपमा ग्यास वितरण सुरु गरेको छ ।

प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार मात्रै उपत्यकाका विभिन्न डिपोबाट ७ हजार ७३६ सिलिन्डर ग्यास वितरण गरिएको हो । शनिबार वितरण गरिएको ग्यासमध्ये ३ हजार १८९ सिलिन्डर सर्वसाधारण उपभोक्तालाई र ३ हजार ३९ सिलिन्डर विभिन्न व्यावसायिक प्रतिष्ठानलाई उपलब्ध गराइएको थियो । त्यस्तै, सुकेधारास्थित श्री ग्यास डिपोमार्फत होटल तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई २ हजार ८०० सिलिन्डर वितरण गरिएको थियो ।

टोखास्थित जय कालिका ग्यास डिपोबाट भने २३४ सिलिन्डर सर्वसाधारण उपभोक्तालाई वितरण गरिएको प्रहरीले जनाएको छ । कालोबजारी नियन्त्रण गरी वास्तविक उपभोक्तासम्म ग्यासको पहुँच सुनिश्चित गर्न उपत्यकाका विभिन्न स्थानमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएका छन् । ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक अभाव देखिएको र उपभोक्ताले सहज रूपमा ग्यास नपाएको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू आउन थालेपछि उद्योगमन्त्री गौरी यादवले यसविषयलाई गम्भीरतापूर्वक लिँदै गृहमन्त्री सुधन गुरुङसँग प्रभावकारी अनुगमन र निगरानीका लागि प्रहरी परिचालन गर्न आग्रह गरेकी थिइन्।

सोहीअनुसार आइतबार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपो तथा बिक्री केन्द्रमा सादा पोसाकका प्रहरी खटाएर निगरानी र अनुगमन थालिएको छ। प्रहरीले ग्यासको मौज्दात, बिक्री वितरण तथा मूल्यसम्बन्धी विवरणमाथि निगरानी राखिरहेको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने वा कालोबजारी गर्ने गतिविधि फेला परे तत्काल कानुनी कारबाही गर्ने गरी प्रहरी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। साथै, आम उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन तथा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन अभियानलाई निरन्तरता दिइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट