Logo

Aug 09 2026 | २०८३, श्रावण २४गते

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी : बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड छ लाख १९ हजार ३१९ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी हो । कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहले कार्यालयले गत आर्थिक वर्षका लागि रु ९० लाख ९५ हजार राजस्व सङ्कलनको लक्ष्य पाएकामा लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको जानकारी दिए ।

उनका अनुसार सङ्कलित सम्पूर्ण राजस्व आयातित वस्तुमा लाग्ने भन्सार महसुल, पैठारी सेवा दस्तुर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क तथा दण्ड, जरिवाना र लिलामबाट प्राप्त भएको हो । यस भन्सार कार्यालयबाट निर्यात भने शून्य रहेको प्रमुख सिंहले जानकारी दिए ।

कार्यालयका अनुसार भन्सार महसुलबाट रु २६ लाख ६८ हजार ७८७, पैठारी सेवा दस्तुरबाट रु दुई लाख १२ हजार ५००, मूल्य अभिवृद्धिकरबाट रु २१ लाख ४२ हजार १५५, अन्तःशुल्कबाट रु एक लाख २२ हजार ७०४ तथा दण्ड, जरिवाना, धरौटी र लिलामबाट रु ५४ लाख ६१ हजार १७३ राजस्व सङ्कलन भएको हो ।

चालु आर्थिक वर्षका लागि कार्यालयले ९२ लाख राजस्व सङ्कलनको लक्ष्य पाएको छ । यसअघि आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले रु एक करोड पाँच लाख राजस्व सङ्कलनको लक्ष्य पाएकामा रु ७७ लाख ७० हजार राजस्व सङ्कलन गरेको थियो । प्रमुख सिंहका अनुसार पछिल्लो समय बैतडीका अधिकांश क्षेत्रमा सडक सञ्जाल विस्तार भएसँगै झुलाघाट नाकाबाट हुने आयात घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट