काठमाडौंः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १५ बुँदे योजना अस्वीकार गरेका छन्। उनले हमास वास्तविक रूपमा निशस्त्रीकरण नभएसम्म इजरायली सेना फिर्ता नहुने स्पष्ट पारेका छन्।
ट्रम्पको ‘बोर्ड अफ पिस’ले गत महिना गाजामा हमास र अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको बताएको थियो। तर, हमासले आफ्ना हतियार बुझाउने विषय इजरायलले सबै प्रकारका आक्रमण अन्त्य गर्ने र गाजाबाट आफ्ना सेना फिर्ता गर्ने कुरामा निर्भर रहने बताएको छ।
गत अक्टोबरमा गाजामा प्रारम्भिक युद्धविरामको सहमति भए पनि इजरायलले गाजामा आक्रमण जारी राखेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा नेतन्याहूले भने, ‘इजरायलले १५ बुँदे दस्तावेजलाई अस्वीकार गर्छ।’
उनले अगाडि भने, ‘हमास पूर्ण रूपमा निशस्त्रीकरण नभएसम्म इजरायली सेना कुनैपनि अवस्थामा फिर्ता हुने छैन र हाम्रा सेना तथा नागरिकविरुद्धका खतरालाई विफल पार्न जारी राख्नेछ।’
हमासका एक अधिकारीले आइतबार बीबीसीलाई बताएअनुसार, समूहले सम्झौताप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्छ। १५ बुँदे योजना कार्यान्वयन गर्न गम्भीर र जिम्मेवारीपूर्वक लाग्न तयार छ। साथै, हमासले मध्यस्थकर्ताहरूलाई सबै पक्षले सहमति गरेका विषयको पालना गराउने सुनिश्चित गर्न आग्रह गरेको छ।
इजरायलको यो अस्वीकारले गत वर्ष सेप्टेम्बरमा घोषणा गरिएको ट्रम्पको गाजा शान्ति योजनाका लागि अर्को ठूलो धक्काको संकेत गरेको बताइएको छ। उक्त योजनामा सम्झौताको कार्यान्वयनको निगरानी गर्न ‘बोर्ड अफ पिस’ गठन गर्ने, हमासको निशस्त्रीकरण, इजरायली सेनाको फिर्ती र गाजाको पुनर्निर्माणलगायत विषय समावेश थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij