मकवानपुर : बागमती प्रदेश सरकारले विपद् उद्धारमा खटिने सशस्त्र प्रहरीलाई आवश्यक पर्ने उद्धार सामग्री उपलब्ध गराएको छ ।आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले मंगलबार चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयलाई २२ प्रकारका विपद् उद्धार सामग्री हस्तान्तरण गरेको हो ।
आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री शिवराज अधिकारीले सशस्त्र प्रहरी तालिम शिक्षालयका वरिष्ठ उपरीक्षक विकास घिमिरेलाई सामग्री हस्तान्तरण गरेका हुन् । मन्त्रालयका अनुसार शिक्षालयको माग र मन्त्रालयमा मौज्दात रहेका सामग्रीका आधारमा उद्धारका लागि आवश्यक उपकरण उपलब्ध गराइएको हो । ती सामग्री तालिम प्रयोजनमा प्रयोग गर्नुका साथै वास्तविक विपद्का समयमा आवश्यकता अनुसार उद्धार कार्यमा समेत प्रयोग गरिनेछ ।
हस्तान्तरण गरिएका सामग्रीमा चेन स, सेफ्टी बेल्ट, हार्नेस, अक्सिजन सिलिन्डर, त्रिपाललगायत २२ प्रकारका सामग्री छन् । मन्त्रालयले यसअघि पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत विभिन्न विपद् उद्धार तथा व्यवस्थापनसम्बन्धी सामग्री हस्तान्तरण गरेको थियो । यसपटक भने विशेषगरी विपद् व्यवस्थापन तालिम शिक्षालयको मागलाई आधार बनाएर सामग्री उपलब्ध गराइएको हो ।
सामग्री हस्तान्तरण गर्दै मन्त्री अधिकारीले विपद् कुनै पूर्वसूचनासहित वा निम्ता गरेर नआउने भएकाले उद्धारका लागि आवश्यक जनशक्ति र उपकरण सधैँ तयारी अवस्थामा राख्नुपर्ने बताए । उनले सशस्त्र प्रहरीले विपद् व्यवस्थापन तथा उद्धारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।‘विपद् भनेको कुनै देखिएर आउने, निम्ता गरेर आउने कुरा होइन । अचानक कहाँबाट आइपुग्छ थाहा हुँदैन । त्यतिबेला सबैले उद्धार गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि सशस्त्र प्रहरी सधैँ तत्पर रहने गरेको भन्दै उनले प्रशंसा गरे ।’
उनका अनुसार विपद्का बेला उद्धारका लागि तालिम प्राप्त जनशक्तिसँगै आवश्यक उपकरण पनि उत्तिकै महत्त्वपूर्ण हुने भएकाले मन्त्रालयले सशस्त्रलाई आवश्यक सामाग्री सहयोग गरेको हो ।
मन्त्री अधिकारीले प्रदेश सरकार र सङ्घीय संरचनाबिचको अधिकारसम्बन्धी जटिलताका कारण विपद् व्यवस्थापनमा प्रदेशले चाहेजति सहयोग गर्न नसकेको गुनासोसमेत गरे ।
उनका अनुसार प्रदेश सरकारसँग स्रोतसाधन भए पनि कतिपय अवस्थामा सङ्घीय सरकारको स्वीकृति लिनुपर्ने भएकाले सुरक्षा निकायलाई सहयोग गर्नसमेत समस्या हुने गरेको छ । प्रदेश सरकारले सशस्त्र प्रहरीलाई सहयोग गर्न चाहे पनि कतिपय विषयमा केन्द्र सरकारसँग स्वीकृति लिनुपर्ने अवस्था रहेको उनले बताए ।
‘केही कुरा दिन खोज्दा केन्द्र सरकारसँग स्वीकृति लिएर मात्रै सहयोग गर्न पाइन्छ । हाम्रो त यो मानवीय सेवा हो,’ उनले भने, ‘‘इच्छा भएर पनि अधिकार छैन । उनीहरूले स्वीकृति दिएनन् भने त्यही सहयोग पनि गर्न पाइँदैन ।’ प्रदेश सरकारसँग उपलब्ध स्रोतबाट सम्भव भएसम्म विपद् उद्धारमा खटिने जनशक्तिलाई सहयोग गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी तालिम शिक्षालयका वरिष्ठ उपरीक्षक विकास घिमिरेले विपद् उद्धारका सामग्री उपलब्ध गराएकोमा प्रदेश सरकारलाई धन्यवाद दिँदै सीमित स्रोतसाधनका बिच प्राप्त सामग्री महत्त्वपूर्ण हुने बताए । उनका अनुसार वर्षायाममा विपद्का घटना बढ्ने भएकाले उद्धारमा प्रयोग हुने उपकरणको आवश्यकता अझ बढी हुन्छ ।
‘अहिलेको समयमा बर्खाले गर्दा पनि हामी दिनभरि विपद्सँग खेलिरहेका हुन्छौँ । तर, हाम्रो आफ्नै कतिपय सामग्रीको कमी भइरहेको छ,’ उनले भने, ‘‘हामीलाई यस्तो सामग्रीको आवश्यकता बढी छ । सीमित स्रोतसाधन भएको बेलामा यो दिनु भनेको हाम्रो लागि ठुलो सहयोग हुन्छ ।’ उनले उद्धार सामग्रीले प्रत्यक्ष रूपमा मानिसको जीवन जोगाउन सहयोग पुग्ने बताए ।
कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयले सशस्त्र प्रहरी कर्मचारीलाई मात्र नभई सर्वसाधारण तथा समुदायलाई समेत विपद् व्यवस्थापनसम्बन्धी तालिम दिँदै आएको घिमिरेले बताए ।
उनका अनुसार शिक्षालयले ‘समुदायमा आधारित विपद् व्यवस्थापन तालिम’ सञ्चालन गरी स्थानीय तह तथा समुदायबाट विपद् स्वयंसेवक उत्पादन गर्ने कामसमेत गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij