काठमाडौँ : अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सर्लाहीको हरिवनमा बुधबार बिहान युवा दौड प्रतियोगिता आयोजना गरिएको छ। सर्लाही युथ फोरमको आयोजनामा भएको प्रतियोगितामा एक सयभन्दा बढी युवा सहभागी भएका थिए। ‘लागूऔषधविरुद्ध हाम्रो दौड’ नारासहित नयाँरोडदेखि हरिवनसम्म दौड आयोजना गरिएको हो।
प्रतियोगितामा अशोककुमार साह प्रथम, विक्रम यादव दोस्रो र आकाश मुखिया तेस्रो भएका छन्। विजेताहरूलाई प्रमाणपत्रसहित क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। सर्लाही पछिल्लो समय लागूऔषध सेवनकर्ताको अखडाजस्तै बन्दै गएको भन्दै लागूऔषधविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फोरमकी अध्यक्ष आरती लामाले बताइन्।
‘लागूऔषधले हाम्रा युवाको सृजनशीलता मार्दै लगेको छ,’ लामाले भनिन्, ‘युवाहरूलाई स्वस्थ, अनुशासित तथा मानसिक र शारीरिक रूपमा सक्षम बनाउन राज्यले विशेष ध्यान दिनुपर्छ।’ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ तय गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij