काठमाडौं : देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ । महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण च्यानल (विक्रेता/डिलर) पन्छाएर उद्योग र विभिन्न केन्द्रमार्फत आफैं ग्यास बेच्ने निर्णयले अभाव थप जटिल बनेको र उपभोक्ताले अनावश्यक सास्ती खेप्नुपरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न माग गरेका हुन् ।
एकातिर विक्रेतालाई ग्यास नदिने र अर्कातिर अनुगमनको बहानामा दु:ख दिने सरकारी रवैयाका कारण बजार भद्रगोल बनेको महासंघको ठहर छ । ‘सरकार, उद्योग र बिक्री केन्द्रका नामबाट आफैं ग्यास बिक्री गर्ने, अनि अनुगमनका नाममा आम विक्रेतालाई अनावश्यक दु:ख दिने सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति प्रकट गर्दछ,’ महासंघबाट जारी विज्ञप्तिमा छ ।
महासंघले तत्काल ग्यास उद्योग र विभिन्न नामका बिक्री केन्द्रहरू बन्द गरी विक्रेता मार्फत मात्रै बिक्री वितरण सहज गर्न सरकारको ध्यानाकर्षण गराएको छ । डिलरमार्फत वितरण प्रणाली मिलाए मात्र उपभोक्ताले पाइरहेको सास्ती अन्त्य हुने र वास्तविक समस्या समाधान हुने महासंघको दाबी छ । यसका साथै विगत चार महिनामा करिब ६० हजार टन ग्यास कम आयात भएको तथ्यांक पनि महासंघले सार्वजनिक गरेको छ । बजारमा आवश्यकता भन्दा बढी (करिब ८० लाख) नयाँ सिलिन्डर छरिएकाले पनि अहिलेको स्थिति उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
अहिले पनि नयाँ सिलिन्डर बिक्री नरोकिएको भन्दै महासंघले यसलाई तत्काल नियन्त्रण नगरिए आगामी वर्षहरूमा ग्यास अभावको समस्या झन् विकराल बन्ने निश्चित रहेको चेतावनी दिएको छ ।
सम्बन्धित निकाय नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारले वास्तविक समस्या समाधान गर्नुको सट्टा अनावश्यक प्रचारबाजी मात्र गरिरहेको महासंघको आरोप छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij