काठमाडौँ : अविरल वर्षसँगै आएको पहिरोले जनधनको क्षति भएका ४ जिल्लामा सरकारले भौगर्भिक अध्ययन टोली पठाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोस्टको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।
पहिरो प्रभावित रोल्पाको थबाङ गाउँपालिका र सुनछहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकामा प्रारम्भिक भौगर्भिक अध्ययन गर्न अध्ययन टोली पठाउने निर्णय गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् । कमान्ड पोस्टले ३ दिनभित्र फिल्डमा अध्ययन टोली पठाउने निर्णय गरेको हो ।
पहिरोका कारण जनधनेका क्षति भएको रोल्पा, जाजरकोट र बझाङ लगायतका जिल्लामा राहत तथा अनुदानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी र अन्य सरोकारवालालाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड २०८१ अनुसार तत्काल राहत र घाइतेको निःशुल्क उपचार गराउन जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति र स्थानीय निकायलाई पनि अनुरोध गरिएको उपसचिव शान्ति महतले जानकारी दिइन् ।
कमान्ड पोर्टले अस्थायी आवास निर्माण, पुनर्निर्माण र पुनर्स्थापनालाई पनि कार्यविधि अनुसार तत्काल काम अघि बढाउन सम्बन्धित स्थानीय तह र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij