Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

भारतीय प्रधानसेनापति धिरज सेठलाई नेपालको मानार्थ महारथीको दर्जा

भारतीय प्रधानसेनापति धिरज सेठलाई नेपालको मानार्थ महारथीको दर्जा

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। नेपाल र भारतबीचको सैन्य सम्बन्धमा लामो समयदेखि कायम रहेको परम्पराअनुसार दुवै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।

सोहीअनुसार सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सेठले भारतीय प्रधानसेनापतिको जिम्मेवारी गत जुन ३० मा सम्हालेका थिए । आजै नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देल र सेठबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको थियो ।

भेटका क्रममा नेपाल र भारतबीचको सैन्य सम्बन्ध, आपसी हित तथा पारस्परिक सहकार्यका विषयमा छलफल भएको थियो । यसैगरी नेपाल भ्रमणका क्रममा भारतीय प्रधानसेनापति सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ। चारदिने नेपाल भ्रमणका क्रममा सेठ आइतबार अपराह्नमा एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij