काठमाडौ : लुम्बिनी प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले आइतबार रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँबाट भन्सार छलेर ल्याइएको झण्डै एक करोड मूल्य बराबरको जुत्ता तथा चप्पल बरामद गर्यो ।
प्रदेश प्रहरीले बुटवल–१३ नयाँगाउँस्थित अमरपथमा रहेको यमबहादुर थापाको दुई तले घरको तल्लो तलाका चारवटा कोठामा भन्सार छली गरी ल्याई भण्डारण गरिएको अवस्थामा ८२ लाख १५ हजार ७०० मूल्य बराबरको विभिन्न प्रकारका जुत्ता तथा चप्पल बरामद गरेको हो ।
जसमा लेडिज चप्पल १ हजार ९३ जोर, लेडिज जुत्ता १ हजार ६८५ जोर, बच्चाका जुत्ता ४ हजार ४२२ जोर र जेन्स चप्पल १ हजार ३५० जोर बरामद गरेको हो ।
बरामद सामग्री आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको छ ।
लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्रबहादुर खत्रीले जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट हुन नसकेका कामका लागि प्रदेशबाट विशेष टोली परिचालन गरी तस्करी नियन्त्रण गर्दै आएका छन्।
सोही अभियान अन्तर्गत आइतबार पनि ठूलो परिणामको अवैध सामान बरामद भएको हो । पछिल्लो समय प्रहरीकै मिलेमतोमा रुपन्देहीको धकधई क्षेत्रबाट जुत्ता र चप्पलको निरन्तर तस्करी हुँदै आएको सूचना पाएका डीआईजी खत्रीले प्रदेशबाटै टोली खटाएका थिए ।
अहिले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तव छन् । श्रीवास्तमाथि तस्करहरुलाई संरक्षण गरेको आरोप लाग्दै आएको छ । प्रदेश कार्यालयको हिजोको हस्तक्षेपले पनि श्रीवास्तवमाथि विभिन्न प्रश्नहरु उब्जिएका छन् ।
एकातिर डीएसपी श्रीवास्तवमाथि तस्कहरुलाई साथ दिएको आरोप लाग्नु र अर्कोतिर प्रदेशबाट खटिएको टोलीले उनकै क्षेत्रबाट झण्डै एक करोड मूल्यबराबरको तस्करीको सामान बरामद् गर्नुले ठूलो आशंका पैदा गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij