हुम्ला : पौडी खेल्ने क्रममा कर्णाली नदीमा दुई जना बेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथ गाउँपालिका १ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा आज दुईजना बालबालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज ढकालले बताए। उनका अनुसार खार्पुनाथ १ का रामचन्द्र रावलको १३ वर्षीय छोरा प्रशान्त रावल र बृख शाहीकी अन्दाजी ११ वर्षीया छोरी अनु शाही कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका भन्ने खबर आएपछि खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ।
कर्णाली नदीको तीव्र बहावले दुई बालबालिकालाई बगाएको हुनसक्ने भन्दै निरन्तर खोजी भइरहेको प्रहरी प्रवक्ता ढकालले जानकारी दिए। उनका अनुसार आज बिहान करिब ११:०० बजेतिर खाना खाइसकेपछि नदी किनारमा नुहाउन गएका खार्पुनाथ १ तल्लो लालीका दुई बालबालिकालाई अचानक कर्णाली नदीमा आएको बहावले बगाएको थियो। बेपत्ता भएका दुवैजना मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए। नदी किनारमा पौडी खेल्ने क्रममा दुवै बालबालिकालाई कर्णाली नदीको बहावले बगाएको खार्पुनाथ १ का वडाध्यक्ष जयबहादुर शाहीले बताए। उनका अनुसार घटना भएको खबर पाएलगत्तै स्थानीयवासी, प्रहरी प्रशासनलगायत सुरक्षाकर्मीले कर्णाली नदीको किनार तथा आसपासका क्षेत्रमा खोजी अभियान थालेका छन्।
नदीमा पानीको बहाव तीव्र रहेकाले खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए। उनका अनुसार दुवै जनाको खोजीलाई तीव्र पारिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij