Logo

Aug 21 2026 | २०८३, भाद्र ५गते

गरिमा चौधरी हत्या प्रकरणपछि सिमराका डीएसपी क्षेत्रीको जिम्मेवारी खोसियो,हेडक्वार्टरबाट भट्टलाई खटाइयो

गरिमा चौधरी हत्या प्रकरणपछि सिमराका डीएसपी क्षेत्रीको जिम्मेवारी खोसियो,हेडक्वार्टरबाट भट्टलाई खटाइयो

काठमाडौं  : बाराको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिलीप क्षेत्रीको जिम्मेवारी खोसिएको छ ।प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले डीएसपी क्षेत्रीलाई सिमराबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाउने निर्णय गरेका हुन् ।

क्षेत्रीको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीएसपी दयाकृष्ण भट्टलाई इलाका प्रहरी कार्यालय सिमराको जिम्मेवारी दिइएको छ । भट्टलाई काज सरुवामार्फत सिमरा पठाइएको हो ।

सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीको भूमिकामाथि प्रश्न उठिरहेका बेला डीएसपी क्षेत्रीको जिम्मेवारी खोसिएको हो।

साउन ३१ गतेदेखि हराइरहेकी गरिमा भदौ २ गते जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित खाली घरमा मृत अवस्थामा फेला परेकी थिइन्।

बालिका हराएपछि परिवारले प्रहरीलाई जानकारी गराउँदा पनि खोजतलास तथा अनुसन्धानमा प्रहरीले बेवास्ता गरेको भन्दै स्थानीय आन्दोलित भएका थिए। 

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गरिमाको बलात्कारपछि हत्या भएको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२ का १६ वर्षीय सुमन थापा र सिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । आफन्तहरु पनि घटनाको निष्पक्ष छानविनको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट