ललितपुरः ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुको नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
प्रहरीका अनुसार अनियन्त्रित भएको ईभी हाइस घरको गेटमा ठोक्किएपछि गेटछेउमा पार्किङ गरी राखिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किएको थियो। दुर्घटनामा कारमा सामान्य क्षति पुगेको छ।
दुर्घटनामा घाइते हुनेमा हाइस चालक महालक्ष्मी नगरपालिका–८ लुभुका २६ वर्षीय अखिल राजथला छन्। उनको अवस्था गम्भीर रहेको र किस्ट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै महालक्ष्मी नगरपालिका–७ चागाथलीका २५ वर्षीय आशिष महर्जन पनि गम्भीर घाइते भएका छन्। उनको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ।
मकवानपुर घर भई हाल महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने १८ वर्षीया एलिसा लामा मध्यम घाइते भएकी छन्। उनको किस्ट अस्पतालमा उपचार भइरहेको छ।
महालक्ष्मी नगरपालिका–८ लुभुका २६ वर्षीय राज महर्जनको अवस्था सामान्य रहेको र उनको पनि किस्ट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij