Logo

Aug 23 2026 | २०८३, भाद्र ७गते

भारतबाट केरा आयात रोकिए पछि स्थानीय उत्पादनले पायो भाउ

भारतबाट केरा आयात रोकिए पछि स्थानीय उत्पादनले पायो भाउ

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का अर्जुन जेठाराले एक दशक भन्दा बढी समयदेखि केरा खेती गरिरहेका छन् । उनले गत विगतका वर्ष काँचो केरा प्रतिदर्जन ३०/४० मा बिक्री गर्थे । कहिलेकाँही ५० रुपैयाँसम्म मूल्य पाउँथे । तर अहिले प्रति दर्जन ७० सम्ममा बिक्री गरिरहेका छन् । चाँडपर्व नजिकिँदै गर्दा केराको मूल्य बढ्दै गएको छ ।

भारतबाट केरा आयातमा प्रतिबन्ध लागे पछि मूल्य राम्रो पाएका कारण यतिबेला जेठाराझैं केरा उत्पादक किसान निकै खुसी छन् । ‘अहिले हामीले राम्रो रेट पाएका छौं,’ जेठाराले भने, ‘अहिलेकै मूल्य रहेमा किसानले राम्रो आम्दानी गर्न सक्छन् ।’ उनका अनुसार अहिलेकै मूल्य अनुसार एक विघामा केरा खेती गर्ने किसानले ४ लाखसम्म आम्दानी गर्न सक्ने देखिन्छ ।

जेठाराले करिब १० विघामा केरा खेती गरेका छन् । पोहोर साल सुरुमा उनले प्रति दर्जनको ५ रुपैयाँ पाएका थिए । त्यसपछि रेट घटेर अन्तिममा बिक्री नै भएन । ठूलो मात्रामा केरा कुहिएको उनले बताए । तर अहिले भने केराको माग पनि धेरै छ ।

विगतमा भारतबाट ठूलो मात्रामा केरा आयात हुने गरेको थियो । जसले गर्दा किसानहरुले मूल्य मात्रै पाउँदैनथे। उत्पादन भएको केरा बिक्री गर्न पनि समस्या हुने गरेको थियो । तर अहिले व्यवसायीहरु खेतमै आउन थालेका छन् । ‘अहिले त केराको मूल्य देखेर हामी हर्षित भएका छौं,’ भीमदत्त नगरपालिका–८ का किसान पूर्णसिंह साउँदले भने, ‘यस्तै मूल्य रहृयो भने केरा खेती गर्ने किसानको संख्या पनि बढ्दै जाने ।’ उनका अनुसार अहिले जिल्लाभरिमा साढे ५ सय हेक्टरमा केरा खेती भइरहेको छ ।

‘लामो समयदेखिको हाम्रो माग पूरा भएको छ, स्थानीय उत्पादनले बजार र मूल्य दुवै पाएको छ,’ अर्का किसान भवराज रेग्मीले भने, ‘हामीले भारतबाट आयात हुने केरा रोक्न धेरै चरणमा आन्दोलन गरेरै यो अवस्था आएको हो ।’ उनका अनुसार भदौ, असोज र कात्तिकमा केरा बढी उत्पादन हुन्छ । यो अवधिमा केराको मूल्य केही कम हुन सक्ने हुन्छ ।

केरा उत्पादक किसानले काँचो केरा प्रतिदर्जन ७० सम्ममा बिक्री गरिरहेका छन् । तर बजारमा उपभोक्ताले भने १ सय ५० भन्दा बढी तिर्नुपरेको छ । विचौलियाका कारण पाकेको केरा महंगो गराएर फेरि भारतीय केरा आयात गर्ने चलखेल हुनसक्ने किसानको आरोप छ ।

किसानबाट केरा पकाऊन चेम्बरमा जान्छ । चेम्बरले थोक बिक्रेतालाई बिक्री गर्छ । त्यसपछि खुद्रा बिक्रेतासम्म पुग्दा मूल्य दोब्बर भन्दा बढी भइरहेको छ । यो चरणमा लागत र केही लाभ जोड्दा पनि दोब्बर फरक हुँदैन । ‘यसको अनुगमन गरेर विचौलियाले गरिरहेको चलखेल नियन्त्रण गरिनुपर्छ,’ रेग्मीले भने, ‘उपभोक्ताले पनि उचित मूल्यमा केरा पाउनुपर्छ ।’

विगतमा पनि स्थानीय उत्पादनलाई महंगो देखाएर भारतीय केरा बढी मात्रामा आयात हुने गरेको थियो । तर अहिले सरकारले नै प्रतिबन्ध लगाएपछि किसानहरु खुसी देखिन्छन् । तर अहिलेकै उत्पादनले यहाँको माग धान्न नसकिने अवस्था आउन सक्ने भएकाले केरा खेती विस्तारमा पनि जोड दिनुपर्ने उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij