काठमाडौँ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूले सभापति गगन थापासँग पार्टीका आन्तरिक विवादका विषयमा छलफल गर्नेबारे सल्लाह गरिरहेकाे बताएका छन् । आइतबार बिहान नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्लसँगको भेटमा निवर्तमान सभापति देउवाले आफू पार्टीलाई एकताबद्ध बनाएर लैजाने पक्षमै रहेको बताएका थिए ।
देउवाको भनाइ उद्धृत गर्दै मल्लले रातोपाटीसँग भने, ‘मैले सबै साथीहरूसँग यसबारे छलफल गरिरहेको छु। अब छिट्टै पार्टी सभापति गगन थापालाई बोलाएर यसबारे निर्णायक छलफल गर्नेछु र एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउनेछु।’
भेटमा आफूले पार्टीलाई सग्लो र एक बनाएर लैजानुपर्ने सुझाव देउवालाई दिएको जानकारी दिए । देउवाको लामो समयसम्म स्वकीय सचिव बसेका मल्ल कांग्रेस डडेलधुराको सभापतिसमेत बनेका थिए । देउवा निवास चुनदेवीमा भएको भेटमा देउवाले कांग्रेस वीपीसँग एकता घोषणा भएको तर, सबैलाई पार्टीमा मिलाउने विषय कहाँ पुग्यो भनेर सोधेका थिए । नेपाली कांग्रेस र कांग्रेस बीपीबीच गत फागुन १७ गते एकता गर्ने औपचारिक घोषणा भएको थियो। यद्यपि, प्राविधिक र साङ्गठनिक पद बाँडफाँटका केही विषय अझै टुङ्गिन बाँकी छन्।
पार्टी समायोजनका लागि नेपाली कांग्रेसले नेता अर्जुननरसिंह केसीको संयोजकत्वमा एक समिति गठन गरेको र त्यो समितिले आफ्नो काम अन्तिम चरणमा पुर्याएको जानकारी आफूलाई प्राप्त भएको मल्लले देउवालाई जानकारी गराएका थिए । ‘हाम्रो तर्फबाट साथीहरूले नेपाली कांग्रेसको क्रियाशील सदस्यता फाराम समेत भरिसक्नुभएको छ, अब घोषणा कार्यान्वयनको पर्खाइमा छौँ,’ मल्लले भेन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij