Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

नापी सर्भेक्षकविरुद्ध झण्डै चार करोडको भ्रष्टाचार मुद्दा, श्रीमतीसमेत प्रतिवादी

नापी सर्भेक्षकविरुद्ध झण्डै चार करोडको भ्रष्टाचार मुद्दा, श्रीमतीसमेत प्रतिवादी

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सर्भेक्षक विन्देश्वर साह सुडी र साहकी श्रीमतीलाई समेत प्रतिवादी बनाएर मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो। आयोगका अनुसार साहले भूमिसुधार तथा व्यवस्था मन्त्रालयअन्तर्गत अमिन पदमा अस्थायी नियुक्ति लिएको २०४६ वैशाखदेखि २०८१ जेठसम्मको अवधिमा आर्जन गरेको आय, गरेको खर्च तथा विभिन्न क्षेत्रमा गरेको लगानी र सम्पत्ति सिर्जनाबारे अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा साहको पारिश्रमिक तथा भत्ता बचत, घरजग्गा र सेयर बिक्री, एकासगोलको आय, ऋण तथा सापटी, बिमा, कृषि, छात्रवृत्ति, ब्याज, सुन बिक्रीलगायतबाट कुल ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा वैधानिक आय देखिएको छ ।

तर सोही अवधिमा जग्गा, सेयर तथा सवारीसाधन खरिद, बिमा प्रिमियम, अध्ययन खर्च, ऋण भुक्तानी, बैंक मौज्दात, सापटी तथा लगानी र जग्गासम्बन्धी कमिसनलगायतमा ९ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ ९५ पैसा खर्च तथा लगानी भएको देखिएको छ। जसअनुसार आय र खर्च तथा लगानीको तुलना गर्दा ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ ८० पैसाको स्रोत पुष्टि हुन नसकेको अख्तियारले जनाएको छ।

उक्त रकम बराबरको सम्पत्ति साहले प्रचलित कानुनअनुसार पेस गरेको सम्पत्ति विवरणसँग मेल नखाने देखिएपछि अख्तियारले साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले साहमाथि ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ ८० पैसा बिगो कायम गरी सोहीअनुसार कैद तथा जरिवानाको मागदाबी गरेको छ। यसैगरी गैरकानुनी रूपमा आर्जन गरिएको भनिएको केही सम्पत्ति साहकी श्रीमती सुमिन्त्रा देवी साहको नाममा खरिद तथा लगानी गरिएको पाइएकोले उनलाई समेत प्रतिवादी कायम गरिएको छ। साथै, गैरकानुनी रूपमा आर्जन गरिएको भनिएको सम्पत्ति तथा सोबाट बढेबढाइएको सम्पत्ति जफत गर्न माग गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij