खोटाङः डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद गरेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा पर्ने साप्सुखोला किनारबाट अवैधानिकरुपमा निकासी गर्न लागिएको काठ वन कार्यालयले तीन दिन लगाएर बरामद गरेको हो।
स्थानीयले दिएको सूचनाका आधारमा निरीक्षण गर्दा काष्ठ व्यवसायीले अनधिकृत रुपमा बिक्रीका लागि लैजान लागेको अवस्थामा फेला परेको डिभिजन प्रमुख राजन राईले जानकारी दिए।
‘काठ व्यवसायीले बिना अनुमति रुख कटान गराएर निकासी गर्ने तयारी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि बरामद गरेका छौं,’ उनले भने, “घटनाको विषयमा छानबिन गर्न समिति पनि बनाइएको छ। समितिको प्रतिवेदन आएपछि कारबाहीको प्रक्रिया अगाडि बढ्छ।’
साप्सुखोलाको शिरतर्फका सार्वजनिक तथा सामुदायिक वनका रुख कटान गरेर ती काठ बगाउँदै ल्याइएको बताइन्छ। मध्यपहाडी लोकमार्गस्थित साप्सुखोलाको मोटरेबल पुलमा काठका मुडा जम्मा गरिएको पाइएको थियो।
अवैध रुपमा गोलिया काठ निकासी भइरहेको घटना सार्वजनिक भएपछि डिभिजन वन कार्यालय खोटाङका कर्मचारी पुग्दा कतिपय मुडा खोलाबाट निकालेर हार लगाएर बगरमा राखिएको तथा कतिपय मुडा खोलामै छरपस्ट भेटिएका थिए। वन कार्यालयका कर्मचारीले सबै काठ वन कार्यालयमा ल्याएका छन्।
बेवारिसे अवस्थामा भेटिएका गोलिया काठ केही निजी र केही सार्वजनिक जग्गाबाट अवैधानिक तरिकाले कटान गरिएको डिभिजन प्रमुख राईले जानकारी दिए। ‘वन ऐन २०७६’ अनुसार सार्वजनिक जग्गामा रहेको उत्तिसलगायत निकासीका लागि खुला गरेको विभिन्न २८ प्रजातिका रुख कटान गरेको प्रमाणित भएमा रु दश हजार जरिवाना र छ महिना कैद हुने कानुनी व्यवस्था छ।
निजी जग्गामा भएका रुख कटानका लागि आदेश लिन नपरे पनि व्यावसायिक रुपमा निकासी गर्न सम्बन्धित क्षेत्रमा रहेको वन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ। दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो केही वर्षदेखि व्यापक रुपमा उत्तिस, मलातो, पात्ले, चिलाउनोलगायत विभिन्न प्रजातिका रुख कटान गरेर गोलिया काठ निकासी गर्ने काम भइरहेको छ।
सक्रिय काठ व्यवसायीले ग्रामीण भेगका जग्गाधनीबाट सस्तो मूल्यमा सिङ्गो रुख खरिद गरेर कटानगरी तराईका विभिन्न जिल्लामा गोलिया काठ निकासी गरेर राम्रो कमाई गरिरहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij