नारायणगढ : रसुवा बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका २२९ शव तथा शवका अवशेष व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिकाबमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको हो। बाढीपछि चितवनमा कुल २३३ शव तथा शवका अवशेष संकलन गरिएको थियो। तीमध्ये चार शवको पहिचान भइसकेको छ भने बाँकी २२९ शव तथा अवशेष अहिले होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका छन्।
लामो समयसम्म राखिएका कारण शवहरू सडगलिसकेको र थप पहिचान गर्न कठिन अवस्था रहेको प्रशासनले जनाएको छ। सम्भावित संक्रमणको जोखिमलाई समेत ध्यानमा राख्दै शवलाई सम्मानजनक तथा कानुनी प्रक्रियाबाट व्यवस्थापन गर्न लागिएको हो। शव व्यवस्थापन गर्नुअघि आवश्यक नमुना संकलन गरी डीएनए परीक्षणका लागि सुरक्षित राखिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। शव तथा अवशेषलाई भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थानमा व्यवस्थापन गर्ने तयारी गरिएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार शव गाडिएपछि पनि आफन्तले डीएनए परीक्षण तथा उपलब्ध अभिलेखका आधारमा भविष्यमा सनाखत गर्न सक्ने व्यवस्था मिलाइनेछ।
यसैबीच, जलदेवी सामुदायिक वनले बाढीबाट मृत्यु भएकाहरूको दाहसंस्कारका लागि आवश्यक दाउरा निःशुल्क उपलब्ध गराउने भएको छ। चितवनमा भेटिएका शवको दाहसंस्कार गर्न आवश्यक परेमा सामुदायिक वनले निःशुल्क दाउरा उपलब्ध गराउने वनका सचिव माधव भुसालले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालयले शव व्यवस्थापनका लागि गरेको अनुरोधअनुसार आफूहरूले आवश्यक जमिनसमेत उपलब्ध गराएको उहाँले बताउनुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij