चितवन : त्रिशूली नदीले नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी खोला पुलदेखि करिब १ किलोमिटर नारायणगढतर्फ सडकको छेउको भाग कटान गरेको छ ।
सडक डिभिजन भरतपुरका अनुसार शुक्रबार साँझ ८ः५५ बजेको अपडेटअनुसार सडकखण्डको चेनज (CH) ३१+०५० मा नदीले सडकछेउको भाग कटान गरेको हो । कटानका कारण उक्त क्षेत्रमा सवारी आवागमनका क्रममा जोखिम हुन सक्ने भएकाले यात्रु तथा चालकलाई सुरक्षित यात्रा गर्न आग्रह गरिएको छ ।
क्षतिको विस्तृत विवरण लिन सडक डिभिजन भरतपुरका डिभिजन प्रमुखको नेतृत्वमा इन्जिनियरसहितको प्राविधिक टोली घटनास्थलतर्फ जाँदै गरेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
क्षतिको अवस्था तथा सडक सुरक्षासम्बन्धी थप विवरण प्राविधिक टोलीको स्थलगत निरीक्षणपछि प्राप्त हुने जनाइएको छ ।