Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सीताबहादुरले सुनाए कान्दाको दुःख : ‘सडक आए भारी बोक्न पर्थेन’

सीताबहादुरले सुनाए कान्दाको दुःख : ‘सडक आए भारी बोक्न पर्थेन’

भरतपुर : कान्दा चितवनकै सबैभन्दा विकट मानिन्छ, जहाँ अहिलेसम्म बिजुली बत्ती र सडक सञ्जालले छुन सकेको छैन । सवारीसाधन देख्नमात्रै तीन घन्टा हिँडेर कालीटार झर्नुपर्ने बाध्यता छ । सार्वजनिक सवारी चढ्नका लागि अर्को एक घन्टा हिँडेर भञ्ज्याङ आइपुग्नुपर्छ । बिजुली बत्तीका लागि पोल बोक्ने काम भइरहेको छ ।

ठाउँ भने चितवनको राप्ती नगरपालिका वडा नं–१३ मा पर्छ । तर, कान्दाबाट चारैतिर घुमेर हेर्दा कहीँ पनि सडक सञ्जाल खनेको देखिँदैन । त्यसकारण कान्देली चेपाङलाई सदरमुकाम आउनुपर्दा एक रात नबसी उपाय नै छैन । सुगम जिल्ला भनेर चिनिएको चितवनमा यतिसम्मको विकट गाउँ पनि छ भन्दा कतिपयलाई विश्वास नलाग्न पनि सक्छ ।

बिहीबार त्यही विकट कान्दाका सीताबहादुर चेपाङले जिल्ला सदरमुकाम भरतपुरमा आएर कान्दाबारे बताएका छन् । उनले कान्देली चेपाङका लागि सबैभन्दा चाँडो सडक सञ्जाल चाहिएको बताएका छन् । गाउँमा लैजानुपर्ने ढुवानीका हरेक सामान मानिसले बोक्नुको विकल्प नहुँदा कान्देली जनता महँगीको ठूलो चपेटामा परेको उनले बताए ।

नेपाल पत्रकार महासंघ चितवनको हलमा भएको संवादका क्रममा सीताबहादुरले भने, ‘सबैभन्दा ठूलो आवश्यकता भनेको त बाटो नै रहेछ । बाटो नहुँदा खाद्यान्नदेखि बिजुलीको पोलसम्म मान्छेले नै बोक्नु परेको छ ।’ कान्दामै लक्ष्मी प्रतिष्ठानमार्फत सञ्चालित कुमार–बलराम स्मृति प्रतिष्ठान छ, जहाँ एक सयभन्दा बढी चेपाङ बालबालिका आवासीय सुविधासहित बसेर अध्ययन गरिरहेका छन् । उनीहरुका लागि आवश्यक खाद्यान्न सबै गाउँलेले बोक्दै आएका छन् ।

त्यसकारण गाउँमा भारी बोक्ने कामले नै फुर्सद नपाएको भन्दै गाउँसम्म सडक खुलेदेखि गाउँलेलाई पनि सुविधा र थोरै भए पनि सस्तोमा सामान पुग्थ्यो भन्ने उनलाई लागेको छ । बाटो नहुँदा कालीटारबाट कान्दासम्म सामान बोकेर लैजाँदा सामान खरिद गरेको मूल्यबराबर बोक्ने ज्याला दिनुपर्ने बाध्यता कान्देली चेपाङलाई छ ।

उनका अनुसार कान्दा अझै पनि अनकन्टारमै छ । तर, मितेरी फाउन्डेसन र लक्ष्मी प्रतिष्ठान कान्दा उक्लिएपछि भने मुहार फेरेको छ । ‘प्रतिष्ठानले शिक्षामा जोड दिएको छ । मितेरीले हामीलाई गरिखाने बाटो सिकाएको छ’, सीताबहादुर भन्छन्, ‘मितेरीले गर्दा हामीलाई एक महिना थप खान पुग्ने भएको छ ।’ मितेरी फाउन्डेसनले सिकाएको खेतीपाती गाउँमा प्रभावकारी भएको उनको भनाइ छ ।

मितेरी र लक्ष्मी प्रतिष्ठानले कान्दामा पुर्‍याएको योगदानमाथि राज्यले साथ दिने हो भने कान्दाको दैनिकी र जीवनशैलीमा आमूल परिवर्तन आउन सक्ने उनले बताए । २०६७ जेठमा जङ्गली च्याउ खाएर परिवार नै सखाप भएपछि कान्दाकेन्द्रित भएर मितेरी फाउन्डेसन स्थापना भएको थियो । त्यसयता मितेरीले कान्दाको विषयवस्तु बाहिर ल्याउने र कान्देली जनताको जीवनशैली परिवर्तनमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।

फाउन्डेसनका अध्यक्ष रमेशकुमार पौडेलका अनुसार कान्दालाई डेढ दशकअघि र अहिलेमात्रै तुलना गर्दा पनि धेरै परिवर्तन भइसकेको छ । समाचार सङ्कलनका लागि १६ वर्षअघि पहिलोपटक कान्दा पुगेको घटना सम्झिँदै पत्रकारसमेत रहेका अध्यक्ष पौडेलले भने, ‘त्यतिबेला १२ घन्टा पैदल हिँड्नुपथ्र्यो । अहिले दुई घन्टा हिँडे सजिलै पुगिन्छ ।’

विद्यालय शिक्षामा पनि धेरै नै सुधार आएको उनले बताए । लक्ष्मी प्रतिष्ठानले कान्दाआसपासका चेपाङ बालबालिकाको शिक्षादीक्षामा योगदान दिएपछि चेपाङ समुदायमा शैक्षिक जागरण फैलिएको उनले बताए । तर, आधारभूत आवश्यकतामा रहेका सडक, बिजुलीजस्ता पूर्वाधारमा सरकारको ध्यान अझै पनि नपुगेको हुँदा जनअपेक्षाअनुसार काम गर्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा सहभागी भएका जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले चितवनजस्तो ठाउँमा अझै पनि यस्तो जटिल समस्या हुनु दुःखद रहेको बताउँदै जनताको मर्मअनुसारको काममा सबै तहका सरकार र नागरिक अगुवाले ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट