ललितपुर : संविधान दिवसको अवसर पारेर बाढी पहिरो प्रभावित नागरिकको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले साइकल र्याली आयोजना गरेको छ।
‘बाढी पीडितका लागि साइकल र्याली, मानवताका लागि एकता’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा ३०० भन्दा बढी साइकल प्रेमीहरूको सहभागिता रहेको थियो। इमाडोलस्थित विद्यालय परिसरबाट सुरु भएको र्याली ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु, लामाटार र महालक्ष्मी नगरपालिकालगायत क्षेत्रको परिक्रमा गर्दै पुनः विद्यालयमै पुगेर समापन भएको थियो । महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले उद्घाटन गरेको र्यालीमा शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीका साथै स्थानीय जनसमुदायको बाक्लो सहभागिता रहेको थियो । र्यालीलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, नेपाल स्काउट र १५० भन्दा बढी स्वयंसेवकहरू खटिएका थिए।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले प्राकृतिक विपद्का बेला पीडितहरूप्रति ऐक्यबद्धता जनाउन र युवापुस्तालाई सामाजिक उत्तरदायित्व बोध गराउन विद्यालयले प्रशंसनीय कार्य गरेको बताए । संविधानले देशलाई सही दिशा दिने भएकाले यस्ता रचनात्मक कार्यक्रममार्फत विद्यार्थी र समुदायमा वातावरणीय संवेदनशीलता एवम् सामाजिक दायित्व बढाउन मद्दत पुग्ने उल्लेख उनले गरे।
विद्यालयका अध्यक्ष एवम् पर्वतारोही प्रकाशराज पाण्डेले साइक्लिङलाई केवल खेलकुदमा मात्र सीमित नराखी मानवीय सेवा, व्यावहारिक शिक्षा र वातावरणीय चेतनासँग जोडिएको अभियानका रूपमा अघि बढाइएको जानकारी दिए ।
र्यालीको दर्ता शुल्कबाट सङ्कलित रकमको २५ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने र विद्यालयले यसअघि नै भोटेकोशी बाढी प्रभावितहरूलाई ५१ हजार रुपैयाँ सहयोग गरिसकेको उनले बताए । जलवायु परिवर्तनका असरबारे विद्यालय तहबाटै चेतना जगाउन अब हरेक वर्ष संविधान दिवसका दिन यो र्यालीलाई वार्षिक अभियानका रूपमा निरन्तरता दिइने उनको भनाइ थियो।
शिक्षालयकी प्रिन्सिपल प्रेमलता श्रेष्ठको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन, वडा अध्यक्षहरू छिरिङ लामा र अमृत केसी, नगर शिक्षा शाखा निर्देशक चिरञ्जीवी पौडेलसहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। र्यालीका सहभागीहरूलाई विद्यालयका तर्फबाट टिसर्ट, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij