काठमाडौँ : प्रहरी हिरासतबाटै अडियो लिक भएको तथा पत्रकार पक्राउ लगायतका पछिल्ला विवादास्पद घटनाबारे गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजिपी) सँग जवाफ माग्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले माग गरेको छ । समितिका सदस्य समेत रहेका नेकपाका प्रमुख सचेतक युवराज दुलालले समिति सभापति हरि ढकाललाई पत्र लेख्दै सरकारी निकायका गैरकानुनी र अस्वाभाविक गतिविधिबारे सरकारलाई जवाफदेही बनाउन अविलम्ब समितिको बैठक बोलाउन माग गरेका हुन्।
प्रमुख सचेतक दुलालले प्रहरी कस्टडीमा रहेका इनम सापकोटाको भनिएको अडियो कसरी बाहिरियो र यसैसँग जोडेर प्रधानमन्त्री तथा उनका प्रमुख सल्लाहकार कुमार वेनले सामाजिक सञ्जालमा लेखेका स्टाटसहरूको आधार के हो भनी प्रश्न उठाएका छन्। यस्तै, पत्रकार पक्राउ पर्ने र छाडिने तर सरकारले भने ‘आफूलाई जानकारी नै नभएको’ गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको विषयमा पनि दुलालले आपत्ति जनाएका छन्।‘दिनप्रतिदिन राज्य एवं सरकारी निकायसँग जोडिएका अस्वाभाविक घटनाहरू भइरहेका छन्। यसबारे के भएको हो र किन गैरकानुनी रूपमा सरकारका निकायहरू चलिरहेका छन् ?’ सांसद दुलालले पत्रमा लेखेका छन्, ‘पत्रकार गिरफ्तार हुने र छोडिने तर सरकार आफूलाई थाहा नभएको भन्ने लगायतका गम्भीर सवालहरूमा गृहमन्त्री र आईजिपीलाई समितिको बैठकमा उपस्थित गराएर जवाफ माग्नु राज्य व्यवस्था समितिको जिम्मेवारी हो।’
पत्रसंगै दुलालले सभापति ढकालसँग बैठक बोलाउनेबारे कुराकानी पनि गरेको रातोपाटीलाई जानकारी दिए । आफ्नो मागमा सभापति ढकालले सकारात्मक प्रतिक्रिया दिएका उनले बताए । सभापति ढकालले सांसद दुलालको मागलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै सदस्यहरूको अनुकूलता हेरेर सम्भव भएसम्म छिट्टै समितिको बैठक बोलाउने बताएका दुलालको भनाइ छ । ‘मागलाई मैले सकारात्मक रूपमा लिएको छु,’ सभापति ढकालको भनाइ उध्रीत गर्दै दुलाले भने, ‘समिति सदस्यहरूको उपलब्धता हेरेर सम्भव भएसम्म चाँडै बैठक बोलाउँछु।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij