Logo

Sep 19 2026 | २०८३, आश्विन ३गते

यस पटकको पलेँटीमा गुञ्जनेछन् नीर शाहका गीत

यस पटकको पलेँटीमा गुञ्जनेछन् नीर शाहका गीत

काठमाडौँ : राष्ट्रिय विपद्का कारण स्थगित भएको अगस्ट महिनाको पलेँटी सेप्टेम्बर महिनाको अन्तिम साता आयोजना हुने भएको छ। हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा हुने पलेँटीमा यस पटक प्रसिद्ध गीतकार तथा अभिनेता नीर शाहका रचनाहरू प्रस्तुत गरिनेछ। रसुवाको विनाशकारी बाढीबाट उत्पन्न शोकका कारण स्थगित सो कार्यक्रम आगामी हप्ता सञ्चालन हुन लागेको हो।

कार्यक्रममा नीर शाहद्वारा रचित झण्डै डेढ दर्जन गीत समावेश गरिनेछ। ती गीतहरू पलेँटीका कण्ठ-शिल्पी अभिज्ञा घिमिरे र रुपक चौधरीले गाउनेछन्। शाहले रचेका ‘पर्खी बसेँ आउला भनी’, ‘कहिलेकाहीँ म हाँस्छु’, ‘गहिराइमा डुब्दै नडुब’, ‘अधरको मुस्कान त केही होइन’, ‘बादल बनाइदेऊ’ र ‘हिउँभन्दा चिसो’ जस्ता गैर-फिल्मी गीतसँगै ‘आँखैमा कसैको तस्बिर बसेछ’, ‘जति निर्मल’, ‘छोरी मलाई भागी भागी’ र ‘यो साँझ यो सुवास’ जस्ता चर्चित फिल्मी गीतहरू घन्किनेछन्। यी गीतमा नातिकाजी, शम्भुजित बास्कोटा, सिके रसाइली र दीप श्रेष्ठले सङ्गीत भरेका छन्।

पलेँटीको पूर्वअभ्यासमा सहभागी भएका गीतकार नीर शाहले सङ्गीतको सानो ध्यान वा ठुलो कन्सर्ट भइरहेको ठाउँ आफ्ना लागि उत्तिकै प्रिय लाग्ने बताए। गायक र वाद्यवादक सबै प्रतिभासम्पन्न रहेको उल्लेख गर्दै उनले भने, ‘उहाँहरूको प्रतिभावित प्रत्यक्ष साक्षी हुने मौका पाउँदा उत्साहित बनेको छु।’

विगत सम्झिँदै उनले थपे, ‘नारायण गोपाल दाइको लाइभ कन्सर्ट गरेको सम्झना छ, त्यो मेरो दायित्व थियो। त्यस्तै प्रकृतिको पलेँटीलाई जीवनका महत्त्वपूर्ण शृङ्खलामध्ये एक हो भन्ने ठानेको छु।’ पलेँटीका संयोजक आभासले सञ्चार, चलचित्र र गीति साहित्यमा उल्लेख्य योगदान दिएका शाहको सृजनात्मक अनुभवसहितको यसपालिको पलेँटी रोमान्चक रहनेमा विश्वस्त रहेको बताए। पलेँटी यही सेप्टेम्बर २५ र २६ तारिखका दिन कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुनेछ। कार्यक्रमको टिकट www.paleti.com.np बाट अनलाइन लिन सकिनेछ। ‘आर’शालामा उपस्थित हुन नसक्ने सङ्गीतप्रेमीका लागि वेबसाइटमार्फत ‘पे-पर-भ्यू’को व्यवस्था गरी प्रत्यक्ष हेर्ने प्रबन्धसमेत मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट