काठमाडौँ : नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले दाइजो प्रथाले मधेस र सिंगो नेपाली समाजमा पारिरहेको भयावह असरबारे अध्ययन गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा सांसद कर्णले भनिन्, ‘म मधेसको छोरी भएर भन्न चाहन्छु, दाइजो प्रथाका कारण समाजमा सिर्जित समस्या अत्यन्तै पीडादायी छ। यो प्रथा मधेसमा मात्र नभई सिंगो मुलुकका लागि एउटा अभिशाप बनेको छ।’
सांसद कर्णले दाइजो लिनु र दिनु दुवै कानुनी रूपमा अपराध भए पनि यो केवल किताबका पानामा मात्र सीमित भएको गुनासो गरिन् । विशेष गरी छोरीहरू जन्मघर त्यागेर जाँदा बोक्नुपर्ने दाइजोको आर्थिक भारले आमाबुबालाई पारेको मानसिक पीडा र वैवाहिक कार्यक्रमका नाममा भइरहेको विकृतिलाई उनले मार्मिक ढङ्गले प्रस्तुत गरिन्।
सांसद कर्णले दाइजो प्रथाको अन्त्य र लागुऔषधको नियन्त्रणका लागि तत्काल कठोर कानुन ल्याउन र सम्बन्धित सबै निकायलाई गृह मन्त्रालयमार्फत निर्देशन दिन सरकारसँग माग गरेकी छन् । उनले भनिन्– ‘दाइजो प्रथा र लागुऔषधजस्ता अपराधविरुद्ध सरकारले कठोर कदम नचाल्ने हो भने भविष्यका कर्णधारहरू नै नष्ट हुनेछन्।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij