Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

सयपत्रीले बदलेको गाउँको दृश्य

सयपत्रीले बदलेको गाउँको दृश्य

झापा  : पत्रैपत्र भएको सुन्दर सयपत्री फूलले नेपालीको महान् चाड तिहारमा विशेष महत्त्व राख्दछ । घर सजाउँदा होस् या चेलीले आफ्ना माइतीको गलामा पहिर्याउँदा, सयपत्रीको माला पहिलो रोजाइ बन्ने गरेको छ ।

त्यही सुन्दर ‘सयपत्री फूलको गाउँ’ भनेर भद्रपुर नगरपालिका–९ र १० को भृकुटी टोललाई चिनिन थालेको छ । यहाँका हरेक घरको आँगन र सडक किनारमा लहरै सयपत्री फूल फूलेका छन् । फूल फुलेर गाउँ नै सुन्दर देखिएको छ ।

स्थानीय भृकुटी युवा क्लबको पहलमा गाउँका हरेक आँगन र सडक किनारमा एक सयका दरले सयपत्रीको बोट हुर्काइएको थियो । अहिले ती बोटमा सयपत्री ढकमक्क फुलेका हुन् । क्लबको आग्रहमा गाउँका ५७ वटा घर अगाडि एक सय बोटका दरले कुल पाँच हजार ७०० वटा सयपत्रीको बोट हुर्काइएको टोलका अभिभावक रमेश पोखरेलले बताए ।

“हाम्रो गाउँ आउनुभयो भने हरेक घरको आँगन र सडकपेटीमा सयपत्री फुलेर पहेँलै भएको सुन्दर दृश्य हेर्न पाउनुहुन्छ,” उनले भने, “रोपी हेरौँ न त भनेर क्लबले अभियान चलाएको थियो । अहिले गाउँ नै सयपत्रीले धपक्कै उज्यालो भएको छ ।”

स्थानीयवासीले सयपत्री हुर्काउन मेहनत गरेका थिए । तिहारमा चाहिनेभन्दा धेरै फूल उत्पादन भएकाले हाल स्थानीयले ती फूललाई बिक्री गरेर आयआर्जन गर्न थालेका छन् । आफूलाई पुगेर उभ्रिएको फूल बेचेर आम्दानी पनि हुँदा स्थानीयवासी हर्षित छन् । झापामा स्थानीय प्रशासनले यसपटक भारतबाट अवैध रूपमा सयपत्री फूल र प्लास्टिकका फूल आयात गर्न रोक लगाएका कारण स्थानीय फूलले बजार पाइरहेको छ ।

पूर्वीनाका काँकडभिट्टा र धुलाबारीबाट चन्द्रगढी विमानस्थल जाने सडक सोही स्थानमा पर्ने भएकाले यहाँको फूलबारीले विदेशी पर्यटकको ध्यान खिच्ने गरेको छ । सो सडकमा हिँड्नेले गाडी रोकेर फोटो तथा भिडियो खिच्ने गरेका छन् । सयपत्री फूलकै कारण गाउँ नै भाइरल होला भनेर नसोचिएको पोखरेल बताउँछन्  । हाल टाढा–टाढाबाट ‘टिकटक’ र ‘फेसबुक’का लागि भिडियो बनाउन परिवारसहित यो गाउँमा पुग्ने गरेका छन् ।

फूलखेती गर्दै आएकी विर्तामोड–५ की सुष्मा पौडेलले झापामा दर्जनभन्दा बढी कृषक व्यावसायिक फूलखेतीमा सक्रिय रहेको बताउँछिन् । उनका अनुसार निजी र व्यावसायिक दुवै किसिमको फूलखेतीले यसपालि राम्रो बजार पाउने सम्भावना छ । उनले झापामा प्रतिकेजी रु ५०० र प्रतिमाला रु १५० का दरले सयपत्री फूल बिक्री भइरहेको जानकारी दिइन् ।

“फूलको अवैध आयात रोक्ने प्रशासनको निर्णयले स्थानीय फूलखेती गर्दै आएका किसानमा उत्साह बढेको छ,” उनी भन्छिन्, “किसानले तिहार नजिकिँदै गर्दा धमाधम अर्डर आइरहेको खुसीको खबर सुनाउने गर्नुभएको छ ।”

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij