Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रभु बैंकका पूर्वसीईओ अशोक शेरचन कारागार चलान

प्रभु बैंकका पूर्वसीईओ अशोक शेरचन कारागार चलान

काठमाडाैं : उच्च अदालत पाटनको वाणिज्य इजलासले प्रभु बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए छ। न्यायाधीशद्वय गणेश प्रसाद बराल र राजुकुमार खतिवडाको इजलासले मंगलबार थुनामा राख्न आदेश दिएको हो।
नेपाल सरकार वादी भई चलाइएको उक्त बैंकिङ कसूर मुद्दामा शेरचनमाथि प्रभु बैंकको सञ्चालक समितिको पूर्व स्वीकृति र निर्णयबिनै गुण एयरलाइन्सलाई १५ करोड रुपैयाँ ऋण प्रवाह गरेको र विप्रेषण बापतको आठ करोड त्रियानब्बे लाख उन्नाइस हजार नौं सय छ्यायासी रूपैयाँ ब्याज बैंकमा प्राप्त नभएको अभियोग लगाइएको छ।

उक्त मुद्दामा प्रतिवादी शेरचनविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ७ को खण्ड (घ) र दफा ९ (२) को कसूरमा कुल बीस करोड सत्र लाख सड्सट्ठी हजार तीन सय चौंतीस रुपैयाँ तीस पैसा  विगो कायम गरी सोही ऐनको दफा १५ (२) (ङ) बमोजिम सजायको माग दाबी गरिएको छ।

नेपाल राष्ट्र बैंक र प्रहरीको प्रतिवेदन, मिसिलमा संलग्न प्रमाण तथा बैंकका कर्मचारीहरूको बयानका आधारमा प्रतिवादी हाल निर्दोष रहेछन् भन्न सकिने अवस्था नदेखिएकाले अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनापूर्जी दिई सम्बन्धित कारागार पठाउन आदेश दिएको छ।उक्त मुद्दामा तत्कालीन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का (एआईजी) मनोज केसीको नेतृत्वमा विस्तृत अनुसन्धान अगाडि बढाइएको थियो। सीआईबीले गरेको प्राविधिक तथा वित्तीय अनुसन्धान र संकलन गरेका प्रमाणका आधारमा सरकारी वकील कार्यालयमार्फत यो मुद्दा अदालतसमक्ष पुगेको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij