Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

दुवाकोटमा व्यापारीलाई कुटपिट गरी सुनको सिक्री लुटेको आरोपमा पाँच जना पक्राउ

दुवाकोटमा व्यापारीलाई कुटपिट गरी सुनको सिक्री लुटेको आरोपमा पाँच जना पक्राउ

काठमाडाैँ : चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा पसल बन्द गरेर घर फर्किँदै गरेका व्यापारीलाई कुटपिट गरी सुनको सिक्री लुटेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका  प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार मंगलबार त्रिपुरा सुन्दरी खाद्य स्टोरका सञ्चालक तीर्थबहादुर कार्की पसल बन्द गरी घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका व्यक्तिहरूले उनलाई कुटपिट गरेका थिए । त्यस क्रममा कार्कीले लगाएको सुनको सिक्रीसमेत लुटेर उनीहरू फरार भएको प्रहरीले जनाएको छ ।

घटनाबारे सूचना प्राप्त भएपछि वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा बुधबार चाँगुनारायण नगरपालिका–२, दुवाकोटबाट पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१ का २५ वर्षीय सुदिप लामा, ३२ वर्षीय कर्णबहादुर तामाङ, २१ वर्षीय कुमार तामाङ, १९ वर्षीय विजय तामाङ र ३२ वर्षीय केनाम सिंह तामाङ रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट दुई थान मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ ।

पक्राउ परेका पाँचै जनालाई चोरी तथा डाँकासम्बन्धी कसुरमा असोज २२ गते जिल्ला अदालत भक्तपुरमा पेश गरिएको थियो । अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट