Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चितवनका आठ ठाउँमा यात्रु सहायता कक्ष

चितवनका आठ ठाउँमा यात्रु सहायता कक्ष

नारायणघाट : चाडपर्वका अवसरमा यात्रुको सहजता, सडक सुरक्षा र शान्तिसुरक्षालाई ध्यानमा राखी चितवनका आठ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त पहलमा यात्रु सहायता कक्ष सञ्चालन ल्याइएको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चाडपर्वका समयमा यात्रुलाई आवश्यक सूचना उपलब्ध गराउने, यात्रा सहजीकरण गर्ने तथा यात्रुका समस्या र गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको बताए।

अर्यालले राजमार्गमा सडक अवरोध हुँदा त्यसको समाधानका लागि जिल्ला प्रशासन कार्यालयका तर्फबाट पहल भइरहेको बताए। उनले चाडपर्व लक्षित सुरक्षा व्यवस्था, सडक सुरक्षा तथा स्वास्थ्य सहायता कक्षसमेत राखिने जानकारी दिए।

यसका लागि स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरिने उनको भनाइ छ। चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि, अनलाइन ठगी, जुवातास तथा सडक दुर्घटना नियन्त्रणका लागि प्रहरी र ट्राफिक प्रहरी गरी ७९७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। नागरिकको जीवन र सम्पत्तिको सुरक्षाका लागि प्रहरी २४सै घण्टा उच्च सतर्कताका साथ खटिनेछ।

हालैको अविरल वर्षा तथा बाढीपहिरोका कारण विभिन्न राजमार्ग प्रभावित भएकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन पनि उनले आग्रह गरे। चितवनमा केन्द्रीय बसपार्क, पोखरा बसपार्क (नारायणगढ), पुलचोक, मुग्लिन, चनौली, टाँडी, खैरहनी र लोथरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट